Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विद्युत् सुविधा नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान

विद्युत् सुविधा नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान

  • 668
    SHARES
  • विद्युत् सुविधा नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान

    म्याग्दी । गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफैं श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् ।

    केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् ।

    मंगला गाउँपालिका-३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका छन् । यसअघि मालिका गाउँपालिका-५ देवीस्थान र रघुगंगा गाउँपालिका-६ को पाखापानी स्वास्थ्यचौकीमा ७.३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए ।

    बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा १२ महिना सिँचाइ गर्ने सुविधा भएको बताए ।

    ‘बस्तीमुनिको म्याग्दी नदीको पानी खेर गए पनि सुक्खा याममा सिँचाइ अभावमा खेतीबाली लगाउन, सिँचाइ गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो’, उनले भने ‘सोलारबाट लिफ्ट सिँचाइ भएपछि बाह्रै महिना खेती गर्न सकिने भएको छ ।’

    संस्थाका प्रतिनिधि र प्राविधिकसहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए । उनीहरूले मंगला माविमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई हस्तकलासम्बन्धी तालिम दिएका थिए ।

    २०२१ को डिसेम्बर महिनायता बाग्लुङको ताराखोला स्वास्थ्यचौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य ऊर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्यचौकीमा सौर्य ऊर्जा गरेका संस्थामा आबद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताए ।

    स्वास्थ्यचौकीमा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था भएपछि फ्रिज, डिपफ्रिज, एक्सरे, कम्प्युटर, प्रिन्टर, रकसन मेसिन, बेवी वार्मरलगायतका उपकरण आवश्यक परेको जुनसुकै समयमा प्रयोग गर्न सकिने भएको छ ।

    बिरामीको उपचार, औषधि भण्डारण र सेवा विस्तारमा सहज भएको देवीस्थान स्वास्थ्यचौकीका प्रमुख तेजिन्द्र रानाले जानकारी दिए । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बगर र चेचुङमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको थियो ।

    अन्नपूर्ण गाउँपालिकाको देउराली आधारभूत, काफलडाँडा आधारभूत, आदर्श मावि, टिकोट मावि, सर्वोदय मावि, मुक्तिमार्ग मावि, खिवाङ आधारभूत, नांगीको सामुदायिक अस्पताल, राम्चे स्वास्थ्यचौकी र टिकोट सामुदायिक स्वास्थ्य एकाइमा पनि सौर्य ऊर्जा जडान गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij