वेबटिभी खबर
मुम्बई । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रको मुम्बईमा नयाँ संक्रमितको संख्या पछिल्लो एक सातामा लगातार घट्दै गइरहेको छ । मुम्बईमा १८ अप्रिलमा आठ हजार चार सय संक्रमितबाट घटेर २५ अप्रिलसम्म पाँच हजार पाँच सय ४२ सम्म आइपुगेको छ । त्यहाँ ५८ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ ।
मुम्बईका कुल संक्रमितमध्ये ८७ प्रतिशत लक्षण नदेखिएका बिरामीलाई अस्पताल भर्ना गर्न नपरेको बिएमसिका कमिश्नर आइएस चहलले बताएका छन् । त्यहाँ १८ अप्रिलसम्म संक्रमण वृद्धिदर १.५३ प्रतिशत थियो, अहिले घटेर १.१७ प्रतिशतमा आएको छ ।
तर महाराष्ट्र राज्यको अन्य क्षेत्रमा संक्रमितको संख्या अझै उच्च छ । त्यहाँ नयाँ संक्रमित ६० हजारभन्दा माथि पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ हजार संक्रमित थपिए भने आठ सय ३२ को संक्रमणका कारण ज्यान गएको छ ।
हालसम्म त्यहाँ ४२ लाख ९५ हजार २७ मानिस संक्रमित भइसकेका छन् । जसमध्ये ३५ लाख ३० हजार मानि संक्रमणमुक्त भएका छन् भने ६४ हजार सात सय ६० जनाको मृत्यु भएको छ ।
त्यहाँ सक्रिय संक्रमितको संख्या छ लाख ९८ हजार तीन सय ५४ रहेको छ । महाराष्ट्र सक्रिय संक्रमितको आधारमा विश्वको चौथो स्थानमा छ । महाराष्ट्रभन्दा अगाडि अमेरिका, ब्राजिल र फ्रान्समा सक्रिय संक्रमित धेरै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij