वेबटिभी खबर
नयाँ दिल्ली । कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न विश्वका केही देश तयार भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले एकदिन अगाडि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेपछि सिंगापुरले भारतलाई मेडिकल अक्सिजन उपलब्ध गराउने प्रस्ताव राखेको छ ।
भारतीय वायुसेनाको विमानले सिंगापुरबाट अक्सिजनको ट्यांक ल्याएको छ । सेनाको विमान शनिबार सिंगापुरको चांगी एयरपोर्टबाट ट्यांक लिएर पश्चिम बंगाल एयरबेसमा अवतरण गरेको थियो । दिल्लीमा रहेको सिंगापुर दूतावासले यसलाई द्धिपक्षीय र बहुपक्षीय प्रयास बताएको छ ।
सिंगापुरबाहेक साउदी अरबले पनि एक कम्पनीमार्फत भारतका लागि ८० मिट्रिक टन लिक्विड अक्सिजन पठाउने भएको छ । भारत कोरोना संक्रमणको दोस्रो लहर ह्वात्तै बढेपछि अक्सिजन र औषधि अभाव भएसँगै गम्भीर आलोचनाको सामना गरिरहेको छ ।
यस्तो अवस्थामा भारत सरकारले विदेशी अक्सिजन आयात गर्नका लागि प्रयास गरिरहेको छ ।
यसभन्दा अगाडि शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी देश भारतलाई कोरोनाविरुद्धको लडाइमा आवश्यक सहयोग गर्ने बताएका थिए । विदेश मन्त्री एस जयशंकर र सिपिंग मन्त्री मनसुख माडंवियाले शुक्रबार साँझ जर्मनी, अमेरिका र अन्य देशका राजदूतसँग छलफल गरेका थिए ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले भारतमा कोरोना संक्रमणले निम्त्याएको भयावह अवस्था देखेर आफू दुखी भएको र छिट्टै स्वास्थ्यकर्मी र भारतीय जनताका लागि अतिरिक्त सहयोग पठाउने ट्विटरमार्फत बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij