Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अफगानी महिलाहरूलाई बुर्का लगाउन तालिवानको निर्देशन 

अफगानी महिलाहरूलाई बुर्का लगाउन तालिवानको निर्देशन 

  • 414
    SHARES
  • अफगानी महिलाहरूलाई बुर्का लगाउन तालिवानको निर्देशन 

    रासस/एएफपी । तालिबानले शनिबार अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ । उक्त समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएका हुन् । 

    गत वर्ष अगस्तमा तालिवान सत्तामा आएपछि अफगान महिलाको अधिकारमाथि तालिवान समूहले अंकुश लगाउँदै गएको छ ।
    उनीहरूले १९९६ देखि २००१ को बीचमा सत्तामा आफ्नो पहिलेको भन्दा नरम शासनगर्ने प्रतिज्ञा गरे पनि बिस्तारै यसको उल्लङ्घन गर्दै गएका छन् । तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघसंस्थाहरूले विरोध जनाएका छन् ।

    सत्तामा आएपछि उनीहरूले अफगानी महिलालाई लक्षित गरी धेरै प्रतिबन्ध लगाइसकेका छन् । उनीहरूलाई धेरै सरकारी जागिर, माध्यमिक शिक्षा र सहरबाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

    शनिबार अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा हुँदा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन्। उक्त उर्दीले महिलाले आफ्नो अनुहार र शरीर ढाक्ने सर्वोत्तम तरिका नीलो रङको परम्परागत अफगान बुर्का लगाउनु भनेको बताइएको छ । 

    अखुन्दजादाद्वारा अनुमोदित र काबुलमा आयोजित समारोहमा तालिबान अधिकारीहरूले जारी गरेको निर्देशनमा भनिएको छ, ‘उनीहरूले बुर्का लगाउनु परम्परागत संस्कार र सम्मानजनक भएकोले बुर्का लगाउनु उचित हो ।’

    ‘वयस्क अवस्थाका पुरुष नातेदारहरूलाई भेट्दा उत्तेजनाबाट बच्नका लागि शरिया निर्देशनअनुसार आँखाबाहेक ती महिलाहरूले आफ्नो अनुहार छोप्नुपर्छ,’ निर्देशनमा भनिएको छ । 

    अन्तरराष्ट्रिय समुदायका धेरै संघसंस्थाहरूले अफगानिस्तानका लागि मानवीय सहायता र तालिवान सरकारको मान्यताका लागि महिला अधिकारको पुनः स्थापनासँग सम्बन्धित नियमलाई मान्नु अनिवार्य हुने बताएका छन् ।

    अखुन्जादाले अनुमोदन गरेको उर्दीमा भनिएको छ,‘महिलाहरू आफ्नो घरबाट बाहिर निस्कने कुनै कारण छैन भने घरमा बस्नु राम्रो हो ।’

    आफ्नो पहिलो शासनको समय तालिबानले महिलाहरूका लागि बुर्का अनिवार्य बनाएको थियो ।

    तालिवान सत्तामा फर्केदेखि नै उनीहरूको सद्गुण र हिंसा रोकथामको लागि तिनीहरूको मन्त्रालयले महिलाहरूले के लगाउनुपर्छ भन्ने विषयमा धेरै ‘दिशानिर्देश’ जारी गरेको छ । तर शनिबारको आदेश महिला अधिकारमा प्रतिबन्ध लगाउने सबैभन्दा कठोर राष्ट्रिय आदेशहरूमध्ये एक भएको एक वरिष्ठ अफगान महिला अधिकारकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताइन् । 

    उनले भनिन्, ‘इस्लामले महिलाका लागि कहिल्यै बुर्काको सिफारिस गरेको छैन । मेरो विचारमा तालिबान प्रगतिशील हुनुको सट्टा प्रतिगामी हुँदै गइरहेको छ । तिनीहरू आफ्नो पहिलेको शासनमा जस्तो व्यवस्था थियो त्यतैतिर गइरहेका छन् ।’ 

    अर्का महिला अधिकारकर्मी मुस्का डास्टेजरले तालिबान शासनले ‘अति धेरै क्रोध र अविश्वास’ उत्पन्न गरेको बताइन् ।

    ‘हामी टुटेका जाति हौं र हामीले बुझ्नै नसक्ने आक्रमण सहन बाध्य भएका छौं । एक व्यक्तिको हैसियतमा हामी दबावमा परिरहेका छौं ।’ कडा इस्लामवादीहरूले मार्चमा केटीहरूका लागि विद्यालय पुनः खोलेको केही घण्टापछि माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिंदा अन्तरराष्ट्रिय आक्रोश उत्पन्न गरेको छ ।

    अधिकारीहरूले केटीहरूको शिक्षा ‘इस्लामी सिद्धान्त’ अनुसार हुनुपर्छ भन्नुको अलावा प्रतिबन्धलाई कहिल्यै उचित साबित गरेका छैनन् । तालिबानका थुप्रै अधिकारीहरूका अनुसार अखुन्जादाले पनि उक्त प्रतिबन्ध जारी गरेका थिए ।

    महिलालाई पनि पुरुषबाट छुट्टाछुट्टै दिनमा राजधानीका पार्कहरूमा जान आदेश दिइएको छ।

    केही अफगान महिलाहरूले सुरुमा स–साना प्रदर्शनहरू र विरोध प्रदर्शन गर्दै तालिवान सरकारका अधिकारविरोधी निर्णयलाई सार्वजनिक गरेपनि तालिवान सरकारको भयका कारण उनीहरूले सशक्तरूपमा प्रस्तुत हुन नसकेको देखिन्छ । उनीहरूले महिलाको शिक्षा र रोजगारीको अधिकारको माग गर्दै राजधानी काबुललगायतका शहरहरूमा प्रदर्शन गरेपनि यसलाई तालिवान सरकारले उल्लेख्य महत्व नदिएको देखिन्छ । 

    तालिवानको भयका कारण निर्देशनपहिले नै धेरै महिलाहरूले ग्रामीण क्षेत्रमा बुर्का लगाइसकेका छन् भने पछिल्लो निर्देशनपछि शहरी क्षेत्रमा कस्तो रूपमा लिइनेछ यसको नतिजा आउन अझै केही समय लाग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij