Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चालू आर्थिक वर्षको नौ महिना अवधिमा ११ अर्बको फलफूल आयात

चालू आर्थिक वर्षको नौ महिना अवधिमा ११ अर्बको फलफूल आयात

  • 427
    SHARES
  • चालू आर्थिक वर्षको नौ महिना अवधिमा ११ अर्बको फलफूल आयात

    काठमाडौं । जनजीविका, रोजगारी र आर्थिक एवम् सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भएपनि उच्च मात्रामा आयात भएको पाइएको छ ।

    नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्यांक समय-समयमा सार्वजनिक भएकै छन् ।

    आर्थिक सर्वेक्षण २०७७/०७८मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्यांक विभागको बिवरणले देखाएको हो ।

    विभागका अनुसार ९ महिनाको अवधिमा प्रमुख फलफूल ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहेपनि अझै कूल कृषि योग्य जमिनमध्ये धेरै बाँझो रहेका छन् ।

    यस्ता कृषि योग्य भूभागको थोरै मात्रको सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बै रकम विदेशीनबाट जोगिन सक्ने देखिन्छ ।

    नेपालको कूल खेतीयोग्य जमिनमध्ये ७ प्रतिशत बराबरको जमिन बाँझो रहेको छ । झण्डै ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ । यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ ।

    भन्सार विभागले चालू आवको पहिलो ९ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणअनुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् ।

    धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिएकाे हाे । चालू आवको पहिलो ९ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    विभागका अनुसार चालू आवको चैत मसान्तसम्म ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्व संकलन गरेको छ । स्याउ चीनबाट धेरै भित्रिएको तथ्यांकमा देखिन्छ ।

    चीनबाट मात्र ४ अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ ।

    यस्तै, चालू आवको चैत मसान्तसम्म १ अर्ब ६४ करोड ६५ लाख २४ हजारका २ करोड ४० लाख ८ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ८ करोड ३४ लाख ६२ हजारर राजस्व संकलन गरेको जनाइएको हाे ।

    ९ महिना अवधिमा १ अर्ब ३१ करोड १८ लाख १ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल ४ करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ करोड ६९ लाख ८० हजार राजस्व संकलन गरेको छ ।

    विभागको विवरणअनुसार ९ महिना अवधिमा १ अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको २ करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ । त्यस्तै चैत मसान्तसम्म ९७ लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि १ अर्ब एक करोड ८४ लाख ७६ हजार रकम बाहिरिको छ ।

    खरबुजा १ करोड ३ लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ । खरबुजाको आयात मूल्य २७ करोड ४३ लाख १४ हजार बराबर छ । चालू आवको ९ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य १६ करोड ५२ लाख २६ हजार बराबरको छ । 

    यस्तै, नास्पाती १९ लाख ६६ हजार १९ केजी १३ करोड ५० लाख ६७ हजार, भुँइकटहर २३ लाख ६४ हजार ६६६ किलो १० करोड ६० लाख ९१ हजारको आयात भएकाे देखिन्छ ।व्यवसायिक रूपमा खेती गर्न सकिने किबी १ लाख ९६ हजार ७२ किलो आयात भएको छ ।

    त्यसको आयात मूल्य ४ करोड ६३ लाख ७३ हजार आयात मूल्य देखिन्छ । १ लाख ५६ हजार ४५९ किलो एभोगाडो ४ करोड ३८ लाख ३६ हजार बराबरको आयात भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij