Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौंलाई बस्न उपयुक्त शहर बनाउँछु : इन्द्रलाल सिंह, काठमाडौं मेयरका आकांक्षी [भिडियो अन्तर्वार्ता] 

काठमाडौंलाई बस्न उपयुक्त शहर बनाउँछु : इन्द्रलाल सिंह, काठमाडौं मेयरका आकांक्षी [भिडियो अन्तर्वार्ता] 

  • 1.8K
    SHARES
  • काठमाडौंलाई बस्न उपयुक्त शहर बनाउँछु : इन्द्रलाल सिंह, काठमाडौं मेयरका आकांक्षी [भिडियो अन्तर्वार्ता] 

    नरदेवी घर भएका नेपाली कांग्रेस काठमाडौंका नेता एवम् महासमिति सदस्य इन्द्रलाल सिंह आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर पदको प्रवल दाबेदार हुन् । काठमाडौंको मेयरका लागि सिंहलगायत कांग्रेसबाट धेरै जना अकांक्षी देखिएका छन् । तर संघीय राजधानीसमेत रहेको काठमाडौंमा केही गर्नसक्ने मेयरको आशा यहाँका जनताले राख्दै आएका छन् । सिंह आफू सामुदायिक विकास विज्ञ भएकाले पनि राजधानी रहेको महानगरलाई सुन्दर बनाउन सक्ने जिकिर गर्छन् । मेयरको आकांक्षा राखेका सिंहसँग महानगरको सौन्दर्य निखार्दै विकास गर्ने योजनाहरू के–के छन् भन्ने विषयमा वेबटिभी खबरले गरेको कुराकानीको सम्पादित अंशः

    काठमाडौं महानगरपालिकामा तपाईंंको मेयर पदमा दाबेदारी किन ?

    म यही ठाउँमा जन्मे हुर्केको । विष्णुमतीमा पौडी खेलेर, लडिबुडी गरेर हुर्केको मान्छे । यहीँ धान रोप्थेंउँ । त्यसरी हामीले खेलेको ठाँउ, अहिले खेल्न त के स्वास फेर्न पनि गाह्रो छ । यदि महानगरमा राम्रो लिडरसिप आएको भए हामी जस्तो आउन पर्ने थिएन् । अब यही घरबाट दाई (पिएल सिंह) मेयर हुनुभयो उहाँले धेरै राम्रो कोसिस गर्नु भयो । त्यसपछि अहिले २५–२६ वर्ष जति भैसक्यो काठमाडौं महानगरमा नेपाली कांग्रेसले नेतृत्व गर्न पाएको छैन ।

    १८ वर्ष त जनप्रनिधिविहीन भएकाले सरकारले नै चलायो । अहिलेको ५ वर्ष एमालेको मेयर हुनुभयो, तर जति गर्नु पर्ने उहाँले गर्न सक्नु भएन । अब हामीले टुलुटुलु हेरेर बस्ने कुरो हुँदैन । म देश-विदेशमा काम गरिरहेको भएकाले अहिले हामीले गर्न सकेनौं भने धेरै ढिलो हुन्छ भनेर महानगरको मेयरमा आकांक्षी बनेको हुँ ।

    मेयरको टिकट पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

    मैले चाहिँ नेताहरूको घरघर धाएको छैन । मैले क्षेत्रीय अध्यक्ष १० जना, इकाई सभापति ३२ जान, प्रदेशको अध्यक्ष १० जना, निर्वाचित वडाध्यक्ष १४ जनासँग मैले राम्रो संवाद गरेको छु । म किन उठ्न खोजेको भनेर उहाँहरूलाई जानकारी गराएको छु । मेरो भिजनको बारेमा पनि जानकारी दिइरहेको छु ।

    उहाँहरूले मेरो कुरा सुनेर राम्रो रेस्पोन्स गर्नु भएको छ । काठमाडौंका प्रभावशाली नेता प्रकाशमान सिंहसँग पनि छलफल गरेर मेरो भिजन यस्तो छ, मैले यस्तो गर्छु भनें । उहाँसँग संवाद गरेर म पनि नगरपालिकामा दाबेदार हुन्छु भनेर आफ्नो आकांक्षा सार्वजनिक गरेको हुँ ।

    काठमाडौ महानगरको मेयरमा कांग्रेसबाट धेरै जनाको दाबी छ । कांग्रेसले छनौटको आधार के बनायो भने तपाईंंले टिकट पाउनु हुन्छ ? के मा अरूभन्दा तपाईंं फरक हुनुहुन्छ ?

    कांग्रेसबाट जतिजना आकांक्षी हुनु भएको छ, उहाँहरू सबै आफ्नो हिसाबले राम्रो नै हुनुहुन्छ । उहाँहरूको बारेमा मेरो कुनै कमेन्ट छैन । मैले पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्रिका, यूरोपमा काम गरें । विभिन्न देशमा काम गरेको अनुभव मसँग छ । मैले श्रीलंका, अमेरिकाबाट तालिम लिएको छु । त्यो भएको हुनाले विदेशीहरूसँग डिल गर्न मलाई सजिलो छ ।

    यो राजधानी शहर भएकाले यहाँ विदेशीहरू आउँछन् । उनीहरूसँग प्रस्ताव राखेर, कुरा गरेर डोनेसन लिन सकिन्छ, अनुदानहरू लिन सकिन्छ । यो चाहिँ मैले गर्न सक्छु । त्यसैले मेयरका अरू अकांक्षीले के गर्नसक्नु हुन्छ त्यो उहाँहरूको कुरा हो । मैले यी सबै गरेर देखाउन सक्छु ।

    महानगरको रूपान्तरणका लागि गर्न सकिने तर यो पाँच वर्षमा हालकाे नेतृत्वले नगरेका के के हुन् ?

    मैले अरू मिडियामा पनि बोलेको छु । अहिलेका मेयरले मोनारेलका कुरा ल्याउनु भयो, साइकिल लेनको कुरा ल्याउनु भयो तर गर्न सक्नु भएन नि ! त्यो गर्न नसेको दुई–तीन वटा कारण छन् । एउटा उहाँहरूसँग भिजन नै स्पष्ट भएन । भिजन स्पष्ट भएको भए मोनोरेलको कुरा निस्किदैन थियो । यो भनेको ५ वर्षमा सकिने कुरा होइन । लामो समय र पैसा पनि पर्याप्त लाग्ने योजना हो । त्यस हिसाबले उहाँको भिजनमा नै कमी हो की भन्ने लाग्छ ।

    दोस्रो टिम वर्क दरिलो खम्बाको रूपमा हुन्छ । उहाँहरूको टिम वर्क भएको जस्तो लाग्दैन । मेयर र उपमेयरमै विवाद देखियो । महानगरमा शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा ठूलो समस्या हुँदा पनि उहाँहरूको प्राथमिकता भने कन्स्ट्रक्सनमा देखियो ।

    सम्पदामा पैसा खर्च भएको राम्रो हो । म पनि यसमा समर्थन जनाउँछु तर उहाँको नियत निर्वाचनको लागि, टिकटको लागि हो भने चाहीँ गलत हो । त्यो चाहीँ सरासर भ्रष्टाचार हुन जान्छ जस्तो मलाई लाग्छ ।

    तपाईंं मेयर भएमा काठमाडौंमा देखिने परिवर्तन के गर्नु हुन्छ ? तपाईंंले मेयरको दाबी गर्दै गर्दा आफू जितेपछि के गर्ने भन्ने योजना पनि बनाउनु भएको छ कि ?

    तपाईं हामी सबैलाई थाहा छ । काठमाडौंमा अहिले फोहोरको एकदम समस्या छ । टाफिक जाम, फुटपाटमा पसल, खानेपानी अभाव, रोजगारीको अवसर छैन । मैले गर्ने भनेको नयाँ होइन । यी कुरालाई नै अलि भिन्न तरिकाले समाधान गर्न सक्छु र गर्छु ।

    अर्को कुरा भ्रष्टाचार नियन्त्रण हो । अहिले घर बनाइ सकेपछि निर्माण सम्पन्नको प्रमाणपत्र लिन पैसा खुवाउनु पर्छ भन्ने गुनासो व्यापक छ । स्थानीय निकायमा भ्रष्टाचार हुन थाल्यो भने त्यो राम्रो हुँदैन । महानगरमा अहिले १४ वटा डिपार्टमेन्ट छ । १४ वटा डिपार्टमेन्टमा उनीहरूले राम्रोसँग काम गरेको छ वा छैनन् भन्ने त्यो चाहिँ हामीले रिभ्यु गर्नुपर्छ । रिभ्यु गरेर पुनःसंरचना गर्नुपर्छ । पुर्नसंरचना के हुनु पर्यो भने त्यो महानगर जनता मैत्री हुनुपर्छ । नगरी नहुने, गर्नु पर्ने र गर्दा राम्रो हुने कामहरू वर्गीकरण गर्नुपर्छ ।

    अब फोहोर थुप्रिएर नगरवासीले दुर्गन्ध भोग्नु परेको छ । यस्तो कुरा त तुरून्तै गर्नु पर्छ नि । यो नगरी नहुने काम हो । अर्काे भनेको राम्रा योजना बनाउनु पर्छ । प्रत्येक वर्ष हामी यो–यो काम गर्छौं भनेर गर्नुपर्छ । अर्काे कुरा विकेन्द्रीकरण पनि जरूरी छ । यदी कुनै काम वडालाई हामीले जिम्मा दियौं भने उसलाई नै छाडिदिनु पर्छ । हामीले उसलाई सहयोग भने गर्नु पर्छ ।

    मानौं ठमेलको योजना गर्दा खेरी हामीले त्यहाँ पर्यटक आउने ठाँउ भएकोले पर्यटनलाई सहज हुने काम हुन पर्यो । पर्यटक एक रात बस्ने खालको छ भने दुई-तिन रात कसरी राख्ने ? त्यहाँको होटल एसोसिएसन, वडा मिलेर पर्यटनको समय कसरी लम्ब्याउने ? भन्ने योजना ल्याउनु पर्छ । त्यो भयो भने पैसा आउँछ ।

    यस्तै सम्पदा भएको ठाँउमा सम्पदाहरूको जगेर्ना कसरी गर्ने ? भन्नेमा हामी जानु पर्छ भन्ने लाग्छ । महानगरमा त्यत्रो कर्मचारी छन् । चुनाव जितेर ३२ वडाबाट पाँच–पाँच जना आउनु हुन्छ । उहाँहरू सबैको चासो विकास हो । त्यसलै चुनाव जितेर आउने सबै एउटै परिवारको सदस्य जसरी महानगरको विकासमा जुट्नु पर्छ । निर्वाचितहरू र कर्मचारीको टिम बिल्डीङ एक्सरसाइज गर्नु पर्छ । यसले हामीलाई काम गर्न सहज बनाउँछ ।

    काठमाडौं कंक्रिटको शहरमा परिणत हुँदै छ । पहिलेको तुलनामा काठमाडौंमा गर्मी बढेको प्रत्यक्ष अनुभव गर्न सक्छौं । यसलाई कसरी प्रदूषणरहित बनाउँदै यसको प्राकृतिक स्वरूप कायम राख्न सकिएला ?

    म सामुदायिक सेवामा काम गरेको हुँदा मेरो फोकस समुदायसँग हुन्छ । नगरबासीले जुन समस्या भोगिरहनु भएको छ, त्यो हटाउन उहाँहरूसँगै मिलेर उहाँहरूकै सहभागितमा काम गर्न सकिन्छ । जस्तो प्रदूषणको कुरा सबैको साझा समस्या हो । एउटा त ग्लोबल वार्मिङका कारण तापक्रम बढेको छ ।

    अर्काे हरियाली त लोप हुने अवस्था भइसक्यो । रिङरोडको वरिपरीसमेत हरियाली देख्न पाईंदैन । त्यहाँ त हामी हरियाली बनाउन सक्छौं । हरेक घरमा गएर नर्सरी राख्न प्रेरित गर्ने, सित्तैमा विरूवा दिने गरेर केही न केही त सुधार गर्न सक्छौं ।

    म त के पनि भन्छु भने, विष्णुमतिको दाँया बाँया सबै कफिको विरूवा लगाइदिने हो भने त्यो १२ महिना हरियो हुन्छ । समयमा फूल आउँछ, त्यसपछि हरियो हुन्छ । त्यसपछि पाक्दा खेरी रातो हुन्छ । त्यसले नगरमा सौन्दर्य थप्नुका साथै स्वरोजगार बढ्छ । युवाहरूलाई देशमै जागिर पाउने हुन सक्छ । 
     
    काठमाडौंको धुलो, धुँवा, सवारीको जाम कम गर्न के योजना छन् तपाईंंका ?

    काठमाडौंमा सवारी जामको समस्या ठूलो छ । तर त्यसलाई समाधान गर्न सडक चौडा गरेर मात्र हुने वाला छैन । जाम हुनुमा पार्किङ पोलिसी नहुनु पनि एउटा कारण हो । सडक चौडा गर्न भनेर घरहरू भत्काइयो तर त्यो ठाउँमा पार्किङ गरेको देखिन्छ । त्यसैले घर भत्काएर सडक लम्बेचौडा बनाउँदैमा हुँदैन ।

    ट्राफिक अनुशासन उलंघन हुन नदिन कडाई गर्नु पर्यो । काठमाडौंमा सवारीहरू धेरै भए । अब यहाँ ठूला खाले विद्युतिय सवारी ल्याएर लामो रूटमा चलाउनु पर्छ । जस्तै डेढ सय यात्रु अट्ने सवारीलाई बूढानीलकण्ठबाट गोदाबरीसम्म चलाउने । यो सुधार एकैपटक त हुँदैन । यसलाई क्रमिक रूपमा गर्दै लैजानु पर्छ ।

    lal.jpg

    ट्राफिक क्षेत्रमा विज्ञता भएकाहरूको सुझाव लिएर यसमा काम गर्नुपर्छ । अहिले बूढानीकण्ठको विद्यार्थी पाटन पढ्न जान्छ । आउजाउमै तीन घण्टा लाग्छ । विद्यालयका बसहरूले नै पनि जाम गराइरहेको हुन्छ । त्यसैले विद्यालयहरू सबै ठाउँमा राम्रो हुनुपर्छ । त्यसले गर्दा अनावश्यक सवारी चल्दैन । विद्यालयलाई राम्रो बनाउने दायित्व स्थानीय सरकारको हो । सरकारी विद्यालयलाई पनि राम्रो बनाएर स्थानीय विद्यार्थीलाई त्यहीँ आकर्षित गर्ने वातावरण बनाउनु पर्छ ।

    काठमाडौंलाई साइकल गुडाउने शहर बनाउनु पर्छ भनेर पनि आवाज उठ्ने गरेको छ । सम्भव होला ?

    सम्भव नहुने त छैन । यसमा पनि विज्ञकै सल्लाहअनुसार केही गर्न सकिन्छ । सानो बाटोमा त कठिन होला तर कम्तिमा रिङरोडको वरीपरि त साइकल लेन बनाउन सकिन्छ । ठूला रोडहरूमा गर्न सकिन्छ । पाटनले गर्नसक्दा काठमाडौंमा गर्न नसक्ने भन्ने हुँदैन । यसमा महानगरले हेर्ने र सडकले हेर्ने होला, यसमा समन्वय गरेर गर्न सकिन्छ । सडक विभागका पनि नियमहरू होलान । यो गर्नुपर्छ ।

    काठमाडौंको पानी र माटो एकदमै मलिलो मानिन्छ । तर अब यी दुबै कुरा दुर्लभ हुँदै गए । पानीका मुहान सुक्दै गए भने माटोमा कंक्रिटका महल ठडिँदै गए । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?

    वास्तबमा अहिले कंक्रिटै कंक्रिट भइसक्यो । पानीलाई जमिनले सोस्ने कुरा नै रोकिएको छ । विष्णुमतीको पानी खेर गइरहेको छ । पहिला बालुवाले सोस्थ्यो अहिले बालुवा छैन । खोलाको दायाँ बाँया बाटो बनाइदिएको छ । कंक्रिटको वाल बनाएको छ । त्यसले गर्दा माटोमा पानी जान पाएको छैन ।

    अब मेलम्ची आएपछि त्यसले वाटर रिचार्ज त गर्छ । ड्यामहरू बनाएर पानी रोक्दा पनि त्यसले पानीको लेयर बढाउँछ होला । यसमा म विज्ञ त हैन तर विज्ञहरूको सल्लाह लिएर पानीका मुहानलाई संरक्षण गर्न जरूरी छ ।

    पानी रिचार्ज गर्न सक्दा मुहानहरूमा पानी फेरि आउनसक्ने आशा गर्न सकिन्छ । काठमाडौंलाई बस्नका लागि उपयुक्त शहर बनाउँछौं भनेर हामीले भन्दै गर्दा त्यसभित्र पर्यावरण, खानेपानी, हरियालीजस्ता सबैकुरा हुन्छन् । मेयरले मात्र गरेर हुने त हैन तर मेयरले अग्रसरता लिएर गर्न सकिन्छ ।

    जनसंख्या बढी हुने महानगरको अवधारणमा सार्वजनिक पार्क पनि हुनुपर्छ भनिन्छ । व्यक्तिगत जमिन थोरै हुने भएकाले आम जनतालाई स्वच्छ हावा र बालबालिका खेल्ने ठाउँको अभाव नहोस भनेर हरेक १० मिनेटको पैदल दुरीमा पार्क बनाउने गरिन्छ । तर काठमाडौंमा त यस्ता पार्क छैनन नि ?

    यो समस्या छ । हामीले प्लानिङ गर्दा कै त्रूटि हो । आगलागी भयो भने दमकल जान नसक्ने ठाउँहरू छन् । कतिपय ठाउँमा ढल छैन । यस्ता समस्याहरू छन् । यो मैले सोचेको छु । विष्णुमतीको तीर छ । त्यहाँ पार्क बनाउन सकिन्छ । ठूलाठूला त हैन साना साना गर्न सकिन्छ । जनसंख्या बढ्नुमा काठमाडौंमा ७७ जिल्लाकै मानिसको बसोबास बढ्दै जानु मुख्य कारण हो । बाहिरबाट काठमाडौं आउने जनसंख्या जुन छ, अवसर र रोजगारकै सिलसिलामा आएको हो । राष्ट्रिय आम्दानीको २५ प्रतिशत काठमाडौंबाट हुन्छ ।

    रामेछापमा तीन प्रतिशत जनसंख्या घटेको छ तर भक्तपुर र काठमाडौंमा बढेको छ । हामीले के गर्न सक्छौ भने काठमाडौं महानगरपालिकाले नजिकका जिल्लामा सुविधाहरू बढाउन सक्छौं । बाहिर जमिन फालाफाल छ तर यहाँ हामी विदेशबाट ल्याएको विषादी हालेको तरकारी किनीरहेका छौं । अब रोजगारको सृजना सबै ठाउँमा गर्नसक्दा अवसरका लागि काठमाडौं आउनेको चाप घट्छ ।

    एउटा मेयरले मात्र महानगरमा धेरै परिवर्तन गर्न सक्छ कि वडाहरूमा पनि त्यहीअनुसारका जनप्रतिनिधि आउनुपर्छ ?

    लोकतन्त्रमा धेरै पार्टी हुन्छन् । काठमाडौं भनेको विकास गर्ने ठाउँ हो । विकास गर्ने, विकास चाहने जनप्रतिनिधिहरू आउनुपर्छ । युवा शक्ति आउनुपर्छ । जो पढेलेखेको हुनुहुन्छ उहाँहरूले चासो दिनुपर्छ ।  युवाले ‘फोहोरी राजनीति’ भनेर चासो दिँदैनन् । उहाँहरूलाई पनि राजनीतिमा ल्याउने प्रयास गर्नुपर्छ ।

    युवालाई पनि राजनीतिमा मौका दिनुपर्छ । केन्द्रदेखि वडा तहसम्म जुनसुकै पार्टीका जनप्रतिनिधि आए पनि त्यहाँ राजनीति गर्ने होइन, विकास गर्ने हो । त्यसैका लागि हामीले टिमवर्क गरेर अगाडि बढ्नुपर्छ । विकासको लागि वडाको महत्त्वपूर्ण भूमिका हुन्छ । काठमाडौं जिल्लामा ११ वटा नगरपालिका छ, ती सबैबीच सहकार्य हुनुपर्छ । काठमाडौं उपत्यकामा भएका सबै स्थानीय तहबीच समन्वय र सहकार्य हुनुपर्छ ।

    अहिले स्थानीय तहलाई दिएकै अधिकारबाट काठमाडौंमा तपाईंंले चाहेका वा भनेकाजति परिवर्तन गर्न सकिन्छ ?

    यो पाँच वर्ष अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरूले काम गर्न ऐन नियम भएन भन्नु भएको छ भने त्यो सत्य हो । संघीय सरकारलाई यो यो बुँदालाई परिवर्तन गर्नुपर्यो भन्नुपर्छ । सबै पार्टीका जनप्रतिनिधिहरूले भन्नुपर्छ । ऐन नियम नभइ हामीले काम गर्न सक्दैनौं । लडाइँमा पठाउने, बन्दुक दिने गोली नदिने भएपछि लडाइँ लड्न सकिँदैन । त्यसका लागि हामीले लविङ गर्नुपर्छ । जिल्ला विकास महासंघ, नगरपालिका संघ, गाउँपालिका महासंघ यी संस्थालाई एक्टिभ गरेर यो ऐन नियम हामीलाई चाहिन्छ, यो कारणले हामीले काम गर्न सकेनौं भन्न सक्नुपर्छ । त्यसमा सहकार्यको खाँचो देखिन्छ ।

    indra3.jpg

    अर्काे प्रसंगमा कुरा गरौं । नेपालमा जुनसुकै चुनावमा पनि धेरै खर्च हुन्छ भनिन्छ । यो महंगो निर्वाचन कसरी थेग्न सक्नुहुन्छ ? 

    यो मैले पनि सुनिरहेको हो । उम्मेदवार योग्य तर पैसा छैन । पैसाकै कारण चुनाव लड्न सक्दैन । निर्वाचन आचारसंहितामा धेरै कुराहरू आएको छ । मोटरसाइकल र्‍यालीलगायत गर्न नपाउने कुराहरू तोकीएको छ । चुनावका बेला घरदैलो अभियान चलाइन्छ । त्यो खर्चिलो छैन । मैले चुनाव केन्द्रित भेटघाटको सिलसिलामा तल्लो तहदेखि माथिल्लो निकायसम्म कुरा गरें । भोट हाल्ने मतदातालाई पैसा चाहिँदैन फेरि पैसा कहाँ खर्च हुन्छ ? उहाँहरू भोट हाल्न आउनुहुन्छ । पैसा के मा खर्च हुन्छ भन्ने मैले पनि सिक्नु छ । मसँग दुई सय भोट छ । मलाई पैसा देऊ भन्न आयो भने रोक्नुपर्छ । यसो गर्न दिनुहुन्न । क्रमिक रूपमा सुधार गर्नुपर्छ ।

    काठमाडौंमा पढे लेखेका बासिन्दाहरू हुनुहुन्छ । उहाँहरूसँग हामीले संवाद गर्नुपर्छ । मलाई लाग्दैन उहाँहरूले पैसा खोज्नुभएको हो भन्ने । सायद अरू कुनै निकायले पैसा माग्ने हो कि ? त्यो मलाई थाहा छैन । टिकट पाएपछि थाहा हुन्छ । यसबारे पार्टीमा छलफल गर्नुपर्छ । योग्य व्यक्ति पदमा आउन चुनावमा हुने खर्च रोक्नुपर्छ । चुनावमा हुने खर्च नरोकिए योग्य व्यक्ति आउँदैनन् । यो विषय सर्वदलीय बैठकमै छलफल गर्नुपर्छ ।

    काठमाडौं महानगरबासी कस्तो मेयर चाहन्छन जस्तो लाग्छ ? 
    राजनीतिमा योग्य व्यक्ति आउनुपर्छ भनेर जनताले भनिरहेका छन् । जनताले पार्टीभन्दा व्यक्ति हेरेका छन् । यो पाँच वर्षमा विभिन्न कारणले गर्दा जनताले राम्रो सेवा पाउन सकेनन् । काठमाडौंको वर्तमान मेयर विद्या सुन्दर शाक्यले काठमाडौंको जनता ह्याप्पी (खुसी) छन् भनिरहेका छन् । फोहोरको डुङ्गुर अगाडि राखेर कोही ह्याप्पी हुने कुरा आएन । खानेपानी छैन । त्यसलाई ह्याप्पी भन्ने कुरा आएन । जोसुकैलाई टिकट देओस् पार्टीले, योग्य व्यक्तिलाई देओस् । जसको भिजन छ जसले विकास र निर्माणलाई तीव्रता दिन सक्छ । जनताले पनि क्षमतावान् मानिसलाई भोट दिनुपर्छ । भोटर भनेको किङ मेकर हो । उहाँहरूले विवेक प्रयोग गर्नुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij