Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वृद्धवृद्धाका लागि जीउने आधार बन्दै वृद्धभत्ता

वृद्धवृद्धाका लागि जीउने आधार बन्दै वृद्धभत्ता

  • 485
    SHARES
  • वृद्धवृद्धाका लागि जीउने आधार बन्दै वृद्धभत्ता

    काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरूककोटका ९६ वर्षीय खड्गबहादुर थापाकाे नाममा कुनै सम्पति छैन । आफ्नो सम्पत्ति नभएपछि थापाकाे दम्पति यतिबला आफन्तको घरमा बसिरहेको छ । उनीहरूका सन्तान पनि छैनन् । काम गर्न नसक्ने उनीहरूकाे जीउने आधार सरकारले दिने वृद्धभत्ता भएकाे छ । सरकारले दिने भत्ताले नै उनीहरूकाे गुजारा चलिरहेकाे छ ।

    सोही गाउँकी ८७ वर्षीया मसिनी कार्कीले सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुसी हुने बताउँछिन् । पाँच वर्षअघि श्रीमान बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आएकी उनकाे दैनिक जीवन पनि सरकारले दिने वृद्धभत्ताले नै चलेकाे छ । वृद्धभत्ताबाहेक उनको आम्दानीको अर्काे कुनै स्रोत छैन् । कार्की पनि निसन्तान हुन् ।

    थापा र कार्की मात्रै नभएर म्याग्दीका पाँच हजार बढी ज्येष्ठ नागरिकको जीवन जिउने आधार सरकारले दिने वृद्धभत्ता बनेको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ स्थानीय तह रहेको म्याग्दीमा ५ हजार ६४६ ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएका छन् ।

    यसरी वृद्धभत्ता पाउनेमा कतिपय ज्येष्ठ नागरिक सन्तानविहीन छन् भने धेरैजसोका छोराछोरी भए पनि सरकारबाट प्राप्त वृद्धभत्ताले नै आफ्नो गुजारा चलाउँदै आएका छन् । समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाएकाले सरकारले दिने वृद्धभत्ताले दैनिक गुजारा चलाउन सहयोग गरिदिएको छ ।

    मङ्गला गाउँपालिका-४ का जसबहादुर घर्तीले चामल, नुन, तेल सबै वृद्धभत्ताले किन्ने गरेकाे बताउँछन् । उनले भने,‘आफ्ना सन्तानबाट दुःख भोग्नु परे पनि सरकारले हेरेको छ । हामी बूढाबूढीलाई साँझ बिहान खाने गाँस र बिरामी पर्दा औषधि उपचार गर्ने खर्च पुगेको छ ।’

    त्यसैगरी बेनी नगरपालिका-२ की इन्द्रकली थापा छोरीसँग बस्छिन् । उनले भनिन्,‘काम गर्न सकुञ्जेल आफैँले दुःख गरेर खाएँ । अहिले काम गर्न सक्दिन, सरकारले दिएको पैसाले पेट पालेकी छु ।’

    बगरफाँटकी ७८ वर्षीया यामकुमारी शर्मा पनि छोराबुहारीसँग बस्छिन । खान, बस्न समस्या नभएपनि सरकारले दिएकाे रकमले औषधि खर्च हुने उनले बताइन ।

    वाृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती हुने गरेकाे छ । संघीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षाभत्ता सचिवले वडा कार्यालय अथवा टोलटोल पुगेर वितरण गर्ने गर्थे । तर संघीयता कार्यान्वनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ ।

    बेनी नगरपालिका-२ का वडाध्यक्ष राजाराम शर्मा सापकोटाले भत्ता बुझ्नका लागि बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको बताउँछन् । सरकारले दिएको भत्ता वृद्धवृद्धाको जीउने आधार त बनेको छ तर, बैंकसम्म धाउनुपर्दा उनीहरुलाई दुःख पनि निकै हुने गरेको उनी सुनाउँछन् ।

    सरकारले वडा कार्यालमार्फत घरआँगन वा सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट नै वितरण गर्ने व्यवस्था मिलाइदिए वृद्धवृद्धालाई राहत हुने उनको भनाइ छ । बेनी नगरपालिका-२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले वृद्धाभत्ता घरैमा ल्याएर दिए आफूलाई सहज हुने बताउँछन् ।

    उनले भने,‘भत्ता लिन सदरमुकाम बेनीबजारको बैंकमा पुग्नुपर्छ । रोगी शरीरले भर दिँदैन । बैंकमा पनि लामो लाइनमा बस्नुपर्ने हुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij