वेबटिभी खबर
नेपालगञ्ज । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । भर्खरै हुर्कदैं गरेको मकै तथा तरकारीमा फौजी किरा देखिएपछि किसान चिन्तित भएका हुन् ।
मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार किराले कलिलो मकैको डाठ खाइदिएपछि बिरूवा सुक्न थालेका छन् ।
किराले यसक्षेत्रका तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा-६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिकरूपमा तरकारी खेती गरिदै आएको छ । तीन वर्षअघि अमेरिकाबाट अफ्रिका-भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो ।
फौजी किरा अहिले यतै बसेको छ । फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ । यहाँको वातावरण फौजी किराका लागि अनुकूल छ, बेलैमा औषधी हालेमा फौजी किराको असर हुँदैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij