वेबटिभी खबर
म्याग्दी । चैत/वैशाखमा फुल्दै आएको लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जंगलका लालिगुराँस ओइलाएर झर्न लागेका छन् ।
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेका हुन् । मौसम परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि फुलेपछि यहाँका जंगल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए ।
पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जंगली फलहरू पाक्ने र गुराँस फूल समय अगावै फुल्ने गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्र घोडेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि लालीगुराँस फुलेका छन् भने पश्चिमी क्षेत्रका अधिकांश जंगलमा पुसको अन्तिम सातादेखि फूल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए ।
मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समय चैत/वैशाखमा गुँरास ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताए । पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोडेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए ।
घोडेपानीका जंगलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो । विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जंगलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य समय हो । अहिले जिल्लाका पश्चिमी म्याग्दीको भकिम्ली, वरञ्जा, अर्मनलगायत रघुगंगा क्षेत्रका पाखापानी, कोटगाउँ, दग्नाम, दर्मिजा क्षेत्रमा भने लालीगुराँस फुलेर ओइलाएको छ ।
विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रंगमा समेत परिवर्तन देखिएको रघुगंगा गाउँपालिका-४ दग्नामका वडाध्यक्ष रूकबहादुर गर्बुजाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij