वेबटिभी खबर
बागलुङ । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दशैंमा कालिका मन्दिरको दर्शनका लागि पर्यटन आउन थालेपछि चहलपहल बढेको हो ।
चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एक दिन बागलुङलाई छुट्याएर आएको चितवन भरतपुरका पर्यटक सुन्दरकुमार बरालले बताए । उनले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको जानकारी दिए ।
अहिले जिल्लामा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । यस क्षेत्रमा सामाजिक तथा संघसंस्थाहरू दैनिक सयौँको संख्यामा आउने गरेका छन् । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् । बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुईचोनै लाग्ने गरेको छ ।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ ।
चैते दशैं सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरू समेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेका छन् । कोरोनाले दुई वर्षदेखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारीसमेत गरिएको छ । बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेलामध्येको एक हो ।
चैत २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
चैतको दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए ।
‘पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटकहरू बागलुङ कालिका र पञ्चकोटमा समेत आएको पाइयो, पञ्चकोट र कालिका मन्दिर दर्शनले गर्दा दर्शनार्थीको भ्रमण समय लम्बिएको छ,’ चोखालले भने ।
‘बागलुङका ठूला होटलहरू पर्यटकले भरिभराउ भएका छन् यो बागलुङको पर्यटन व्यवसायीहरूका लागि सुखद कुरा हो, बागलुङमा थप ठूला तारे होटलहरूको समेत आवश्यकता खड्किएको छ ।’ चोखालका अनुसार बागलुङ आउने भारतीय र नेपाली पर्यटक मध्य अधिकांश धार्मिक पर्यटक आउने गरेका छन् ।
पर्यटकीय क्षेत्रका रूपमा एकदमै अगाडि बढेको बागलुङमा बिस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरूको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुन थालेको छ । धार्मिक पर्यटकहरू मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ ।
अहिले विभिन्न पर्यटकीयस्थलको प्रचार-प्रसार तथा प्रवर्द्धनका कारण जिल्लामा पर्यटकको संख्या बढ्दै भएका छन् । अहिले होटलमा पाहुनाको व्यवस्थापन गर्न हम्मे हम्मे पर्दै आएको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताए । उनले पाहुनाको मागअनुसार आफूले होटलको सुविधा थप्दै आएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij