Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गण्डकी दोहनले कुरूप बन्दै नदी

गण्डकी दोहनले कुरूप बन्दै नदी

  • 578
    SHARES
  • गण्डकी दोहनले कुरूप बन्दै नदी

    गलेश्वर । वर्षौदेखि अवैधरूपमा दोहन हुँदै आएको कालीगण्डकी कुरूप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने भएपनि कालीगण्डकी दोहन रोकिएको छैन ।

    अवैधरूपमा नदीको दोहनहुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक तथा आर्थिक महत्वका (शिला) शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ ।

    गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन् तथा निकासी मापदण्ड तयार गरेपनि क्रसर व्यवसायीको मनोमानी र जल तथा भू-माफियाका कारण कालीगण्डकी नदीको अस्तित्व नै खतरामा परेको सरोकारवालाले बताएका छन् ।

    मुस्ताङको कागबेनीदेखि सुरु हुने कालीगण्डकीको दोहन गुल्मीको रिडीसम्म पुग्दा दर्जनौं ठाउँमा निर्वाधरूपमा ठूला उपकरणको प्रयोग गरेर भइरहेको छ । अवैध नदी दोहनले कालीगण्डकीको धारसमेत परिवर्तन भइरहेको हो ।

    कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि निकै बहुमूल्य भएपनि नदी दोहनका कारण हराउँदै जान थालेको कालीगण्डकी बचाउँ अभियानमा लागेका बेनीका अभियन्ता सागरजीवी उपाध्यायले बताए ।

    ढुंगा, गिट्टी, बालुवा, उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले तयार पारेको कार्यविधि-२०७५ अनुसार राष्ट्रिय वन र आरक्षजस्ता संवेदनशील क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान उत्खनन गर्दा डोजर, स्क्याभेटर, लोडरजस्ता भारी उपकरण प्रयोग गर्न नपाइने उल्लेख छ ।

    नदी दोहन भइरहेपनि कारबाहीको दायरामा ल्याउने स्थानीय प्रहरी, प्रशासन र सरोकारवाला निकाय भने गम्भीर नदेखिएको नागरिक अगुवा बताउँछन् । यसैक्रममा मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउँ’ विशेष अभियान सञ्चालन गरेको छ ।

    यही चैत १७ गतेदेखि सञ्चालन भएको उक्त अभियान नेपालका विभिन्न २१ जिल्लामा जनचेतनामूलक कार्यक्रम गरी मनाइने मानवअधिकार तथा शान्ति समाजले जनाएको छ ।

    म्याग्दीको सदरमुकाम बेनीमा पनि शुक्रवार सन्देशमुलक र्‍याली र कोणसभा गरी विश्वव्यापी समस्या बनेको जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, नदी र मानवसभ्यताको सम्वन्ध र जथाभाविरूपमा हुँदै आएका नदी दोहनका समस्याले निम्त्याएको विपत्तिका सम्वन्धमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

    ‘हिमालय बचाउँ, नदी जोगाउँ भन्ने आह्वानका साथै ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा÷सबैको अधिकार’, ‘लागू औषध/मदिरा द्रुवसन विरुद्व अभियान’ र ‘युद्ध निषेध, शान्ति विशेष’ अभियान पनि एकै साथ सञ्चालन गरिएका मानवअधिकार तथा शान्ति समाज नेपालका महासचिव रामकृष्ण बरालले बताए ।

    मानवअधिकार, शान्ति लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानवअधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाहसमेत सञ्चालन गर्दै आएको संस्थापक सभापति कृष्ण पहाडीले जानकारी दिए ।

    अभियान अन्तर्गत तीनवटा अवधारणापत्र वितरण गरिएको थियो । समाजको टोली शनिबार मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाकातर्फ गएको छ । त्यहाँबाट फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, वर्दघाट, गैंडाकोट हुँदै चैत २५ गते चितवनमा पुगेर अभियान समापन गरिने महासचिव बरालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij