वेबटिभी खबर
गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रूपमा शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोहीलाई आकर्षण गर्छ ।
मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रूपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिए ।
मन्दिरको महिमा र गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औं कोटीहोम लगाएका थिए । समय-समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् ।
गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आएका जगद्गुरु शंकराचार्य अनन्त श्रीविभूषित स्वामी नरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताए ।
मन्दिरको महत्वसँगै यस आसपासको क्षेत्रलाई शिक्षा, योग, आयुर्वेद आदिको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिएका छन् । नवनिर्मित मन्दिरको गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल र जगद्गुरु शंकराचार्य अनन्त श्रीविभूषित स्वामी नरेन्द्रनन्द सरस्वतीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले यस क्षेत्रको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दै त्यसका लागि स्थानीय जागरूकता आवश्यक भएकोमा जोड दिए ।
अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण पनि यहाँको महत्व चुलिएको स्थानीयवासी चिरञ्जीवी वाग्लेले बताए । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैं हल्लिएको प्रत्येक्ष देखेका उनको भनाइ छ ।
उनका अनुसार मन्दिर परिसरमा रहेको कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नुलाई पनि यहाँको शक्तिका रूपमा लिने गरिएको छ । त्यस्तै मन्दिरको पारी रहेको रूद्रदेवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नुलाई पनि दैवी शक्तिका रूपमा लिने गरिएको उनले बताए ।
मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङ लगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् ।
मन्दिरको महिमा र गरिमा उच्च बनाउँदै यहाँको धार्मिक पर्यटकीय विकास एवं अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति गर्न २०७४ चैत २५ गतेबाट २०७५ वैशाख ३ गतेसम्म श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो ।
रूद्रभिषेक, सप्तशति पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा कथावाचक व्यास पण्डित पुरूषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको थियो उक्त महायज्ञमा ८७ लाख ५३ हजार ८४ रुपयाँ ६४ पैसा संकलन भएको मन्दिर निर्माण समितिका सदस्य जानकी थापाले जानकारी दिए ।
मन्दिरसहित शिवालय, सत्तल आदि निर्माणमा हालसम्म झण्डै २ करोड खर्च भएको जानकारी दिँदै उनले महायज्ञमा संकलित रकमसहित गण्डकी प्रदेश सरकारबाट ४० लाख एवं गाउँपालिका तथा वडा कार्यलयबाट सहयोग प्राप्त भएको बताए ।
‘मन्दिरको प्रवर्द्धन गर्दै यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्न जरूरी देखिएको छ’, उनले भने, ‘मन्दिरसम्म आउने सडकमार्गलाई व्यवस्थित गर्दै मन्दिर आसपासमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने पक्का छ ।’
परापूर्व कालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आर्दि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन् ।
पूर्वाधार विकाससँगै आवश्यक प्रचार-प्रसार गरी यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यससँग उत्पादनलाई पनि जोड्न सकिने उनीहरूको तर्क छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij