Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जनकपुरधामको विकासका लागि योजना बनाउँदै 

जनकपुरधामको विकासका लागि योजना बनाउँदै 

  • 474
    SHARES
  • जनकपुरधामको विकासका लागि योजना बनाउँदै 

    जनकपुर । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सक्ने योजनाकाबारेमा सरोकारवालासँग छलफल अघि बढाएको छ ।

    करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो ।

    जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यदूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको जानकारी दिए ।

    ‘प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्’, उनले भने, ‘त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख, प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौं । उहाँहरूको सरसल्लाह र योजनाअनुसार नै हामी सहयोग गछौं ।’

    भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न पहल गरिने वाणिज्यदूत नितेशकुमारको भनाइ छ ।

    मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी ८ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायल, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले जानकारी दिए ।

    केही समयपछि नेपाली युवा पत्रकारलाई परिचयात्मक भ्रमणका लागि भारत पठाउने योजना बनाइएको जानकारी दिँदै वाणिज्यदूत नितेशकुमारले नेपालबाट सांस्कृतिक टोली भारत पठाउने योजना बनाएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij