वेबटिभी खबर
बलेवा । नेपाल भ्रमण वर्ष २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचार-प्रसार भएको थियो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि कोरोना महामारीले देश प्रभावित हुँदा बागलुङ पनि प्रभावित भयो ।
राज्यको पुनः संरचनापछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य ‘एजेण्डा’ बनेको पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण वर्षमा कोरोना महामारी बाधक बन्यो । दुई वर्षको अन्तरमा कोरोनाका विभिन्न भेरियन्टले असर परेको जिल्लाको पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको छ ।
बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलकोटस्थित मूर्तिकला कार्यशाला, ढोरपाटन शिकार आरक्ष, गाँजाको दह र हाँडीकोटको टापुमा पर्यटकको संख्या बढ्दै गएको छ । ‘आन्तरिक पर्यटनका लागि गाँजाको दहमा यस वर्ष गुराँस महोत्सव नै भयो’, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भनिन्, ‘कोरोना मत्थर भएपछि पर्यटन प्रवर्द्धनको सुरुआत भएको छ ।’
जैमिनीकै हाँडीकोट टापुमा यस वर्षको फागु पूर्णिमा मनाउन सयौं युवा पुगेका छन् । गुराँस फुलेर सिङ्गारिएको हाँडीकोटले लामो समयपछि आन्तरिक पर्यटक पायो । ‘साथीसँग मिलेर होली खेल्न हाम्रो रोजाइ बन्यो हाँडीकोट’, जैमिनी नगरपालिकाका लक्ष्मण पौडेलले भने, ‘सहरका पार्टी प्यालेसमा पुगेर गर्ने खर्च बच्यो, आफ्नै ठाउँमा गुराँससँग होली खेलियो ।’
बागलुङ नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्न हालै बागलुङ गएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका भगवती घुमेरका थिए ।
लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा भएको शिविरमा आएका स्पेनका ९ चिकित्सकलाई पनि यहाँका पर्यटकीय क्षेत्र घुम्न यसपटक कोरोनाले छेकेन । संसारकै लामो दाबी गरिएको बाङ्गेचौर-अदुवारी झोलुङ्गेपुल पुगेका स्पेनी नागरिक खुसी भएका छन् । पुलमा बिदाको दिन सयौँ र अरु दिनमा पनि धेरै पर्यटक पुग्ने गरेका छन् ।
शुक्रबार ढोरपाटन शिकार आरक्ष पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बागलुङ बजार, गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरभित्रका अधिकांश पर्यटकीय क्षेत्र घुम्न पुगेका थिए । उनले प्रदेशको समृद्धिसँग ढोरपाटन शिकार आरक्षलाई जोड्नुपर्ने बताए ।
जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र शिकार आरक्षका रूपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।
फागुनको दोस्रो सातायता बागलुङका विभिन्न पर्यटकीयस्थल र घरबासमा देखिएका पर्यटकले फेरि पर्यटन क्षेत्र जुर्मुराइरहेको संकेत गरेको छ । ‘लामो समय हामीले हात बाँधेर बस्यौं, अब त्यो दिन नआओस्’, अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक यामबहादुर थापाले भने, ‘कोरोनाले थला परेको व्यवसाय अब फेरि उठ्ने तयारीमा छ ।’
यहाँका सबै स्थानीय तहले पर्यटकीय क्षेत्रको पुनः उत्थानका लागि लगानी र वातावरण तयार गर्नुपर्ने सर्वसाधारणको माग छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij