वेबटिभी खबर
पोखरा । पोखरा महानगरपालिका-११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुख क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मार्गदर्शन महिला समूहद्वारा आयोजित शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाको आर्थिक सहयोग गरेका छन् ।
शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
त्यस्ता बिरामीलाई संघीय सरकारले १ लाख र प्रदेश सरकारले ५० हजार उपचार खर्च उपलब्ध गराउँदै आएको छ । शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा.अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो ।
उक्त अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिइन् । कार्यक्रममा आवश्यक औषधी पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सबिना श्रेष्ठले जानकारी दिइन् ।
पोखरा महानगरपालिका-११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाईदा लिने गरेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका-११ का सभापति हरिप्रसाद बास्तोला र स्थानीय समाजसेवी प्रेम कर्माचार्यलगायतले क्यान्सर रोग र शिविरको महत्वबारे जानकारी दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij