वेबटिभी खबर
जनकपुरधाम । वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताएका हुन् ।
धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाे भन्दै त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।
अहिले रहेको वनस्पति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वनस्पति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको मन्त्री यादवले बताए । ‘वनस्पति उद्यान केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वनस्पति, बिरुवाहरुलाई संरक्षण गर्दै आएको छ,’ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छ ।’
वस्तपति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रुपमा विकास गर्न सकिने मन्त्री यादवले बताए । वारवारको अभावमा जंगली जनावरबाट वनस्पति केन्द्र हुने क्षतिलाई न्यूनीकरण गर्न तत्काल नै संघीय सरकारले चारैतिरबाट तारवारको लागि बजेट व्यवस्थापन गर्न लागेको मन्त्री यादवले बताए । केन्द्रलाई व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न फिल्महरु निर्माणका लागि उपयुक्त स्थल हुन सक्ने मन्त्री यादवले बताए ।
वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वनस्पति केन्द्रको अवस्थामा बारे मन्त्री यादवलाई जानकारी गराएका थिए । जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्यअनुसारको काम गर्न सकेको हुसेनको भनाइ थियो । केन्द्रमा विभिन्न प्रजातिका जडिबुटी, पानीमा रहने विभिन्न प्रजातिका जडिबुटी तथा बिरुवाहरू समेत उद्यानमा रहेका हुसेनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij