वेबटिभी खबर
लुम्बिनी । रुपन्देहीका सञ्चारगृह तथा सञ्चारकर्मीबीच दोस्रो ‘टेन स्टिल्स मिडियाकप फुटसल-२०७८’ आयोजना हुने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजले यही फागुन २० गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कोभिड संक्रमणका कारण संकटमा परेका सञ्चारगृह र सञ्चारकर्मीलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाई भ्रातृत्व भाव विकास गर्ने उद्देश्यले खेल आयोजना गर्न लागेको हो ।
शुक्रबार पत्रकार भेटघाटमा प्रतियोगितामा जिल्लाका एक दर्जनभन्दा बढी सञ्चारगृहको सहभागिता रहने र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।
प्रतियोगिताले सञ्चारकर्मी र सञ्चारगृहबीच भ्रातृत्व विकास गर्नाका साथै थप नयाँ ऊर्जा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका प्रबन्धक गौतम भुसालले बताए ।
गत वर्षदेखि आयोजना गरिएको प्रतियोगिताबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई मध्येनजर गरी वार्षिक रुपमा नियमित प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक पनि फुटसल प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार र दोस्रो पुरस्कार १५ हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ३ हजार ५ सय तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही २ हजार ५ सयका साथै कप, पदक तथा प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा महिला पत्रकारबीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij