Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पोल गाडेको १५ वर्षमा पनि बलेन बिजुली

पोल गाडेको १५ वर्षमा पनि बलेन बिजुली

  • 917
    SHARES
  • पोल गाडेको १५ वर्षमा पनि बलेन बिजुली

    कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साबिकका गाउँ विकास समितिले विद्युतका पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो ।

    ‘गाडेका पोलमा तार झुण्ड्याइएको छ, तर बत्ती बलेको छैन्’, स्थानीय भन्छन्, ‘अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।’ हचुवाका भरमा विगतमा साबिकका गाविसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरु गाडिएका हुन् ।

    पोल गाडिएको वर्षै भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्षअगाडि गाडिएका ती पोल र झुण्ड्याइएका तारमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करोडौँको नोक्सान भएको बताइएको छ ।

    साबिकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरिद भएका कैयौं पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका-९ का शिक्षक नवराज शाहीले बताए । ‘गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘विद्युतको आयोजना नभएको ठाउँमा किन पोल र तार चाहियो ।’

    पोल र तारमा साबिकको लालु गाविसले आव २०६७/६८ मा कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौं खर्च गरेको जनाइएको छ । त्यस्तै कुमालगाउँ गाविसले आव २०७०/७१ को विकासे अनुदानबाट २५ लाख खर्च गरेर पोल खरिद गरिएको नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउँपालिकाका अध्यक्ष अग्रबहादुर बिष्टले बताए ।

    विद्युत् आयोजनाको पूर्वाधार निर्माण नगरी गाउँमा पोल र तार कतै गाडिनु, त पोल र तार अलपत्र अवस्थामा छोड्नुका मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै रहेको नरहरिनाथ गाउँपालिका-९ लालुस्थित जनप्रभात माविका प्राध्यापक निर्मलकुमार बिष्टले जानकारी दिए ।

    ‘विद्युतका पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ’, उनले भने, ‘न विद्युत आयोजना छ । न कतैबाट विद्युत् ल्याउने तयारी छ । हचुवाका भरमा विद्युतका पोल गाडिनुमा मुख्य कारण नै अनियमितता गर्नु हो ।’

    करोडौं रकम खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् । गाडिएका विद्युतका पोल र झुण्ड्याइएका तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग छैन । अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको हो । विगतमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij