वेबटिभी खबर
बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पुर्याउन थप दुई वटा खोप र एउटा प्रसूति केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको विकट क्षेत्र वडा नं १ को बालुवापाटी र वडा नं ५ को गैह्रिबिसौना देउपुरमा खोपकेन्द्र स्थापना गर्नुका साथै वडा नं २ को चुरीथुम्कामा प्रसूति केन्द्र स्थापना गरेको हो ।
नगरपालिकामा ७ वटा स्वास्थ्यचौकी र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् र अहिले ग्रामीण क्षेत्रका बालबालिका तथा महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखेर थप २ वटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए ।
नगरपालिका भएपछि तीन वटा सहरी क्लिनिक थप गरिएको घिमिरेको भनाइ छ । स्थापना गरेको खोपकेन्द्रमा बालबालिकालाई लगाउने नियमित खोप कार्यक्रम र कोभिड १९ विरुद्धको खोपसमेत सञ्चालन हुनेगरी सेवा प्रवाह हुनेछ ।
उक्त क्षेत्रमा स्थापना गरेको केन्द्रमा आवश्यक सामग्री र जनशक्तिसहित सेवा सुरु गरेको घिमिरेले बताए । अब बाँकी आवश्यक रहेको ठाउँमा पनि खोपकेन्द्र निर्माणको अन्तिम चरणमा रहेको छ । वडा नं १ का वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्य क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
भूगोलको हिसाबले निकै कुनामा रहेको बस्तीका समुदायलाई नजिकैबाट सेवा पुर्याउनका लागि माथिल्लो चुरीथुम्कालाई छनोट गरेर खोपकेन्द्र स्थापना गरेको उनले बताए । त्यस्तै वडा नं २ का वडाध्यक्ष केशवप्रसाद तिमल्सिनाले स्वास्थ्य संस्थाको भवन बनाउनु नै एउटा पाटीमा बसेर सेवा दिने गरेकोमा अहिले भवन बनेपछि थप सुविधा उपलब्ध भएको जानकारी दिए ।
वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले प्रसूति केन्द्र र खोपकेन्द्र स्थापना भएपछि गाउँका अप्ठ्यारा बाटामा उकालो ओरालो हिँडेर टाढाको बाटो गएर जाँच गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij