वेबटिभी खबर
गलेश्वर । म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड संक्रमणकाे दर घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहलपहल बढेको हो ।
त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका-४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् ।
कोरोना संक्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो ।
म्याग्दीको गलेश्वर शिवालय धाममा लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।
गलेश्वरमा सोमबार र शनिबार करिब २ सयजना भक्तजन पूजा गर्न मन्दिरमा आएको उनले बताए । प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम, महारानी थान, बेनी शिवालय, स्थानीय मठ मन्दिरलगायतका धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलमा चहलपहल बढेको छ ।
कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको कोषका कार्यालय सचिव बानियाँले बताए ।
लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्नेगरी मन्दिर खुला गरेपछि भक्तजनको भीड बढेको बगरफाँटस्थित दुर्गाभगवती मन्दिर व्यवस्थापन समितिका सचिब दीपक घिमिरेले जानकारी दिए ।
मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो । ओमिक्रोन संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij