Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुविधासम्पन्न बन्दै वडाका कार्यालय भवन

सुविधासम्पन्न बन्दै वडाका कार्यालय भवन

  • 774
    SHARES
  • सुविधासम्पन्न बन्दै वडाका कार्यालय भवन

    कास्की । पोखरा महानगरपालिकाले महानगरको प्रशासकीय भवनसँगै वडा कार्यालयका भवन निर्माण गरिरहेको छ । महानगरले बनाएका भवनहरु सुविधासम्पन्न छन् भने केहीमा विद्युतीय भर्याङसमेत जडान गरिएको छ । नयाँ भवनहरु अपाङ्गतामैत्री छन् ।

    महानगरका ३३ वडामध्ये ४ वर्षको अवधिमा ९ वडाका कार्यालय भवन निर्माण सम्पन्न भएको र केहीको निर्माण भइरहेको छ । पछिल्लो समय वडा नं २ को भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा प्रवाह सुरु भएको छ । कूल २ करोड २५ लाख २७ हजार लागतमा निर्माण गरिएको सो भवनको आइतबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।

    उक्त अवसरमा उनले स्थानीय सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुनेगरी सहज र छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताए । २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि वडाका नयाँ भवन निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ ।

    जमिन व्यवस्थापन लगायतका समस्याले नयाँ भवन निर्माण रोकिएकाहरुमा पुरानैको स्तरोन्नति गरिएको बताइन्छ । महानगरले हालसम्म वडा नं २ सहित वडा नं ७, ११, १२, १६, १९, २२, ३० र ३२ का नयाँ भवन निर्माण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । उनकाअनुसार वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । 

    त्यस्तै, महानगरको प्रशासकीय भवनको समेत शिलान्यास गरेर काम सुरु गरिएको छ । पोखरा-९ नयाँबजारस्थित दमकलमार्गमा ४ रोपनी क्षेत्रफल जमिनमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।

    यसैगरी वडा नं ६, १७ र २६ का भवन निर्माणका लागि प्रक्रिया सुरु गरिएको पौडेलले जानकारी दिए । उनले भने, ‘प्रशासकीय भवनसँगै वडाका आफ्नै भवनहरु निर्माण महानगरको प्राथमिकतामा छन् । सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाहमा सहज हुनेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij