Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सेवा सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड

सेवा सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड

  • 660
    SHARES
  • सेवा सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड

    बुटवल । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनः निर्माण हुन थालेको हो ।

    बुटवलको दीपनगरमा पुनः निर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं-७ को पुनः निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनः निर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे ।

    टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ । वडाध्यक्ष कमलप्रताप थापाले आफूहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    करिब ३२ लाखमा उक्त्त वडा भवन पुनः निर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनः निर्माण गरी बनाइएको हो ।

    त्यस्तै उपमहानगरको वडा नम्बर-८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको छ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

    सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं-१० को भवन निर्माण भएको छ र वडा नं -२ को पनि पुनः निर्माण हुने तयारीमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij