वेबटिभी खबर
नेपालगंञ्ज । व्यवसायीक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका-५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दंग भएका छन् । गाउँपालिकाले किसानहरुलाई कृषक पेन्सन दिन थालेपछि यहाँका किसान दंग भएका हुन् ।
बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको ६ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही २ हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान २ हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।
कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। ‘गाउपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने, ‘परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’
गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने आएका रामसुरत मौर्य, आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेका छन् ।
त्यस्तै, पशुपालक किसानतर्फ २ हजार कुखुरा पालन गर्दै आएका अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पालन गर्दै आएका वलियासार यादव र इफरान अहमद कृषक पेन्सनमा छनौटमा गरेका हुन् । हरिशङ्कर मुराउ, छोटेलाल राढ र रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij