वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।
राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे ।
अध्यक्ष डा.भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए ।
अध्यक्ष डा.भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij