वेबटिभी खबर
काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६-५३ ले पराजित गर्यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे ।
चारै क्वाटर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७-१७, १७-१३, १७-११ र १५-१२ स्कोर गर्यो । अजय कुश्वाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०-६२ ले हरायो । पहिलो क्वाटरमा २१-६ को अग्रता बनाएको रोयल दोस्रोमा १८-२१ ले पछि पर्यो । रोयलले तेस्रोमा १८-१६ र चौथोमा २३-१९ को अग्रता लियो ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७-४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । दोस्रो क्वाटर ८-८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२-११, तेस्रोमा २२-१४ र चौथोमा १५-७ को प्रदर्शन गर्यो ।
अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९-५७ को जित रच्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वाटरमा १७-२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै आराम्दायी जित आत्मसात् गर्यो । गोल्डेनगेटले दोस्रो क्वाटर २०-१२, तेस्रो २५-१३ र चौथो १७-१० ले आफ्नो पक्षमा पार्यो । लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्ने छ । यही खेलले सेमिफाइनल समीकरण तयार गर्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij