वेबटिभी खबर
काठमाडौं । पाँच पटक मुलुकको प्रधानमन्त्री भएका शेरबहादुर देउवा देशकै पुरानो र अगुवा राजनीतिक दल नेपाली कांग्रेसको १४औं महाविधेनशनबाट पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएका छन् । यसअघि २०७२ सालमा भएको १३औं महाधिवेशनबाट सभापतिमा चुनिएका उनले पुनः सोही पदमा निरन्तरता पाएका हुन् ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा जिल्लामा २००३ सालमा जन्मिएका देउवा विद्यार्थी राजनीति हुँदै पार्टी नेतृत्वमा स्थापित हुने नेतामा पर्छन । देउवा वि.सं. २०२८ मा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापति भएका थिए ।
विद्यार्थी राजनीतिबाट स्थापित भएका देउवालाई जननायक बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । जब वि.सं.२०४६ मा नेपाली कांग्रेसले देशमा पञ्चायत शासनविरुद्ध जनाअन्दोलनको अगुवाइ गर्दा देउवा लण्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए ।
२०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं आए । २०४८ को चुनावमा डडेल्धुराबाट सांसदमा विजयी भएका देउवा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बने । गृहमन्त्री बनेको पाँच वर्षभित्रै २०५२ सालमा उनी प्रधानमन्त्री बने ।
संयुक्त सरकारको प्रधानमन्त्री बनेका देउवाले सरकार टिकाउन जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै आलोचना भएको थियो । प्रजातन्त्रप्रति नै वितृष्णा बढ्ने गरी सांसदलाई पजेरो सुविधा, विश्वासको मत लिन सुरा-सुन्दरीको प्रयोगजस्ता क्रियाकलापले गर्दा देउवा नेतृत्वको त्यसबेलाको सरकार आलोचित बनेको थियो ।
उनी प्रधानमन्त्री भएकै बेला डा.बाबुराम भट्टराईले ४० बुँदे माग पेश गरेका थिए । त्यो माग पुरा नभएकाले माओवादी सशस्त्र विद्रोह सुरु भएको थियो । जसले गर्दा देशले ठूलो क्षती व्यहोर्नु पर्यो ।
देउवा २०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री बने । तर, तत्कालीन राजाले उनलाई त्यसै वर्ष पदबाट हटाए । तर, पुनः २०६१ साल जेठमा उनलाई राजाले प्रधानमन्त्री बनाए । त्यसै वर्षको माघमा राजाले देउवालाई अक्षमको आरोप लगाउँदै पदच्युत गरे ।
तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग द्वन्द्व बढेपछि देउवाले २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । त्यसको सभापति देउवा नै थिए । पार्टी विभाजनको असर देशव्यापी परेको थियो । तर, २०६२/०६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि २०६४ सालमा देउवाको पार्टी पुनः नेपाली कांग्रेसमा मिसियो ।
प्रजातान्त्रिक कांग्रेस गठनपछि पार्टीमा केही ओझेल परेका देउवा २०७२ सालमा भएको १३औं अधिवेशनबाट पार्टी सभापतिमा विजयी भए । त्यसपछि उनको राजनीतिक यात्रा उकालो लाग्न सुरु भयो ।
२०७४ सालमा उनी चौथो पटक प्रधानमन्त्री बने । देउवा प्रधानमन्त्री हुँदा देशभर भएको प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाको चुनावमा कांग्रेसले नराम्रो पराजय भोग्नु पर्यो । चुनावमा पराजय व्यहोरेपछि पार्टी सभापतिको रूपमा उनले पार्टीलाई उचाईमा पुर्याउन भूमिका नखेलेको आरोप लाग्दै आएको थियो ।
पार्टीको १४औं महाधिवेशनअघि नेतृत्व परिवर्तन, नेतृत्वमा पुस्तान्तरणको कुराहरू निकै चले । पार्टी फुटाउँदादेखि नै देउवालाई निरन्तर साथ दिएका बिमलेन्द्र निधिले १४औं महाधिवेशनमा देउवाविरुद्ध उम्मेदवारी दिए ।
त्यसैगरी नेतृत्व परिवर्तनको आवाज निरन्तर उठाइरहेका नेता प्रकाशमान सिंह र शेखर काेइरालाले पनि देउवाविरुद्ध उम्मेदवारी दिए । पहिलो पटक भएको चुनावमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत आउन सकेन् । कांग्रेसको विधानअनुसार पार्टी सभापतिमा विजयी हुन खसेको कुल मतमध्ये ५० प्रतिशतभन्दा बढी ल्याउनै पर्छ ।
दोस्रो पटक बढी मत ल्याउने दुई जनाबीच पुनः चुनावी प्रक्रिया हुँदा शेखर कोइरालालाई पराजित गर्दै देउवाले चुनाव जिते । पुनः मतदान हुँदा तेस्रो र चौथो भोट ल्याएका सिंह र निधिले देउवालाई सहयोग गरे । त्यसपछि देउवालाई पार्टी सभापतिमा जित्न सहज बन्यो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij