वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूहरुले जिते शेरबहादुर देउवा नेतृत्वको सरकार झन् बलियो हुने बताएका छन् ।
आइतबार साँझ अनुपम फुडल्याण्ड बत्तीस पुतलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सभापतिसहित आफूहरुले जिते गठबन्धन झन् बलियो हुने र यही सरकारको नेतृत्वमा चुनावमा जाने बताएका हुन् ।
उनले भने, ‘शेरबहादुर जीले मैले हारे सरकार परिवर्तन हुन्छ, मैले प्रधानमन्त्री छोड्नु पर्छ भनेर भन्नु भएछ। उहाँका कुरा सुनेर मलाई खल्लो लाग्यो, महाधिवेशन प्रतिनिधि साथीहरूलाई पनि खल्लो लागेको हुनुपर्छ। तर, ढुक्क हुनोस्, हामीले जिते तपाईं नेतृत्वको यो सरकार झन् बलियो हुनेछ।’
सरकार र गठबन्धन कायम रहने बताउँदै उनले भने, ‘चुनावपछि अनुभवी नेताहरूको सुझाव अनुसार नै अघि बढ्ने छौं । भागवण्डारहित, गुटबन्दीरहित सरकार बनाउँछौं ।’
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै आफूले हारे प्रधानमन्त्रीबाट हटाउने बताएका थिए । सोहीको काउन्टर जवाफमा डा.कोइरालाले यस्तो जवाफ दिएका हुन् ।

यद्यपी, सभापति देउवाले उक्त प्रचार गलत भन्दै खण्डन गरेका छन् । उनले भनेका छन्, ‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् । यो सरकार चुनावसम्म नजान पनि सक्छ । मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो ।’
मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस् : देउवा
देउवाको स्पष्टिकरण- मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij