वेबटिभी खबर
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा पर्यटन विभागबाट विनियोजित रकमबाट जुगल हिमश्रृङ्खला क्षेत्रमा ‘भिया भराता’ निर्माण भएको छ । नेपालमै पहिलो पटक साहसिक यात्रामा प्रयोग गर्ने ‘भिया फराता’ अर्थात् फलामको बाटो निर्माण भएको हो ।
यसको नाम ‘जुगल भिया फराता’ राखिएको छ । यो निर्माणसँगै जुगल हिमशृङ्खलाको आधार शिविर पुगेपछि जुगलका चुचुराहरू आरोहण गर्न सहज हुने छ । सोही शीर्षकको रकमबाट जुगल हिमश्रृङ्खलाको आधार शिविर प्रवेश क्षेत्र नेपेमासालदेखि बुम्बाशेर्बुसम्म तीन हजार सिंडी निर्माण भएको छ ।
साथै ‘जुगल माउन्टेन हट’ लगायतका जुगल हिमशृङ्खलाको आधार शिविर क्षेत्रमा पुग्न, बसोबास एवं अन्य सुविधाका लागि काम भइरहेको र निकट भविष्यमा सम्पन्न हुने सम्बद्ध अधिकारीहरूले जानकारी गराएका छन् ।
२०७५ चैतको अन्त्यमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ गुम्बाको जुगल हिमशृङ्खलामा पर्ने ६ हजार १ सय ५१ मिटरको उचाइमा ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको थियो ।
जुगल हिमशृङ्खलामा ग्याल्जेन पिकसहित ११ वटा चुचुरा छन् । सबै चुचुरामा पुग्न नेपेमासाल हुँदै आधार शिविर पुग्नुपर्ने भएकोले सो क्षेत्रको पूर्वाधार निर्माणमा सभामुख सापकोटाको विशेष पहल भएको हो ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको केन्द्र बलेफी बजारबाट ब्रम्हायणी करिडोरको बाटो हुँदै नौविसे, जलविरे, कात्तिके, पाँगर्पु, बोल्दे, गुम्बा, अम्बाखर्क, तेम्बाथान र अन्तिम बस्ती दिपु हुँदै नेपेमासाल पुग्न सकिन्छ ।
नेपेमासालबाट माथि जान हाल सिंडी निर्माण गरिएको हो । सो क्षेत्रबाट एक दिनमा जुगल हिमशृङ्खलाको आधार शिविर पुग्न सकिन्छ । काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल क्षेत्रमा पर्यटकीय गतिविधिलाई तीव्रता दिन पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतमा सभामुख सापकोटाको विशेष पहल हुँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij