वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या २६६ दिन यताकै कम हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार १२६ जना मात्र संक्रमित थपिएका छन् । २६६ दिनपछि दैनिक संक्रमित यति कम भएका हुन् ।
त्यसैगरी संक्रमित हुने घट्दै गएका बेला निको हुने भने बढेका छन् । भारतमा निको हुने दर बढेर ९८ दशमलव २५ प्रतिशत पुगेको छ । त्यसले गर्दा भारतमा सक्रिय संक्रमितको संख्या पनि निकै कम भएको छ । अहिले भारतमा एक लाख ४० हजार ६३८ जना मात्र सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने चिन्ताजनक छ । यो अवधिमा ३३२ जनाको संक्रमणबाट निधन भएको छ ।
दैनिक संक्रमित हुने दर घटेको, निको हुने दर बढेको अवस्थामा मृत्यु दरमा भने घट्न सकेको छैन् । मृत्यु संख्या बढी हुनुलाई भारतीय चिकित्सकहरुले चिन्ताको विषय भएको बताएका छन् । उनीहरुले अहिले परीक्षण घटेकाले दैनिक संक्रमित कम देखिएको उल्लेख गर्दै संक्रमण फैलने खतरा अझै कायम नै रहेको हुँदा सतर्क रहने सुझाव दिँदै आएका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप अभियानलाई तीब्र बनाइएका कारण पनि पछिल्लो समय संक्रमित हुने दर घटेको हो । भारतमा सय करोडभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij