काठमाडौं । बार्सिलोनाले आफ्ना लिजेन्ड खेलाडी जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। कतारी क्लब अल सादमा रहेका जाभीलाई बार्सिलोनाले प्रशिक्षक नियुक्त गरेको हो।
अल सादले यसअघि ४१ वर्षीय प्रशिक्षकलाई क्लब छाड्न नदिने बताएको थियो । तर बार्सिलोनाका लागि ७ सय ७९ खेल खेल्दै २५ उपाधि जितेका मिडफिल्डरले आफैं बार्सिलोना फर्कने बताएपछि क्लबले फुकुवा गर्न राजी भएको हो । अल सादका अनुसार बार्सिलोनाले उनको सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लज रकम तिरेको छ ।
बार्सिलोनाले जाभीसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको हो । क्लबले सोमबार जाभीलाई सार्वजनिक गर्ने जानकारी दिएको छ ।
जाभीले सन् २०१५ मा खेलाडीकै रुपमा बार्सिलोना अल सादसँग सम्झौता गरेका थिए । उनले सन् २०१९ मा खेल जीवनबाट विश्राम लिँदै प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जाभीको नेतृत्वमा टोली लिगमा ३६ खेलयता अपराजित रहेको छ ।
बार्सिलोनाले गत साता रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । कोम्यानले लिगमा सुरुवाती ११ मध्य ४ खेल मात्र जितेका थिए । बार्सिलोना नाक तालिकामा शीर्ष स्थानको रियल सोसीडाडभन्दा ९ अंकले पछि परेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij