जेरुसलेम । इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथोपटक संसदको निर्वाचन मंगलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।
इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गत डिसेम्बरमा गठबन्धन टुटेको थियो ।
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शनहरु पनि भएका थिए । र पनि प्रधानमन्त्री नेतान्याहू र उनको लिकुड नेसनल लिबेरल पार्टी अझै पनि लोकप्रिय छ । यद्यपि भर्खरैको जनमत सर्वेक्षणले निर्वाचनले देशलाई आवश्यक पर्ने स्थिरता प्रदान गर्ने सम्भावना नरहेकाले यसको नतिजा अप्रत्याशित नै रहेको देखाएको छ ।
अघिल्ला चुनावमा भन्द यसपटक नेतान्याहूको सम्भावना केही खस्किएको छ, लिकुडको नेतृत्व थोरै रहेको छ भने नेतान्याहू अलि बढी नै सक्रिय हुनुपरेको छ, जुन अघिल्लो चुनावमा देखिएको थिएन । पछिल्ला समयमा इजरायलको राजनीतिक परिदृश्य परिवर्तन भएको छ र यसले लामो समयदेखि नेतृत्व गरिरहेका नेतालाई चुनाव जित्न गाह्रै अवस्था बनाउने देखिएको छ ।
तेल अभिव विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक उरिएल अबुलोफका अनुसार नेतान्याहूको लोकप्रियता कमजोर हुँदै गए पनि यस चुनावबाट त्यत्रो ठूलो परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij