Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बागमतीकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, गठबन्धनबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने

बागमतीकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, गठबन्धनबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने

  • 378
    SHARES
  • बागमतीकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, गठबन्धनबाट राजेन्द्र पाण्डे  मुख्यमन्त्री बन्ने

    मकवानपुर । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन् ।  एकल बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य आबद्ध पार्टी एमालेबाट विभाजन भई एकीकृत समाजवादीमा १३ जना सांसदले सनाखत गरेपछि उनी अल्पमतमा परेकी हुन् । अहिले शाक्यलाई एमालेका ४३ जना सांसदको मात्रै समर्थन रहेकाले उनले विश्वासको मत नपाउने देखिएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी भएको छ । 

    प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री बनेको दुई महिनापछि शाक्यले आज विश्वासको मत लिने लागेकी हुन् । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार विश्वासको मत लिन आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको छ । ‘सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । यसका लागि आवश्यक अधिकृतसहितको कर्मचारी खटाइएको छ,’ सचिव खड्काले भने । 

    गत २४ असोजको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको ४ कात्तिकको बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन मुख्यमन्त्री शाक्यले आग्रह गरेकी थिइन् । तर शाक्यलाई गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत नदिई आफ्नै सहभागितामा सरकार बनाउने तयारी गरिसकेका थिए । बरु उनीहरूले मुख्यमन्त्री शाक्यलाई उल्टै राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । 

    दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभामा एक सय नौ जना सदस्यहरू रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यक पर्छ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्रै छन् । यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई जना, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा)को एक जना प्रदेशसभा सदस्य छन् । 

    गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डे मुख्यमन्त्री बनेसँगै सम्भव भए आजै चार सदस्यीय मन्त्रीमन्डल गठन गर्ने गठबन्धनको तयारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij