रमेश दवाडी
वडाध्यक्षमा जितेर पनि चार वर्षसम्म हारेका महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका-१० का रमेश रायले ढिलै भए पनि न्याय पाए । जितेर पनि जितेको प्रमाणित गर्न चार वर्षसम्म उनले लड्नुपर्यो । सोमबार रायसँग कुरा गर्दा अझै उनले वडाध्यक्षको जिम्मेवारी पाइसकेका थिएनन् । प्रकृयागत कामहरू बाँकी रहेकाले वडाध्यक्षको जिम्मेवारी सम्हाल्न केही दिन लाग्ने उनको भनाइ थियो । ढिलै भए पनि न्याय पाएकोमा उनी खुसी छन् । कोरोना महामारीका कारण न्याय पाउन केही ढिला भएको उनी बताउँछन् । चुनाव जितेर पनि चार वर्ष जिम्मेवारीविहीन बनेका राय अब आउने चुनावमा प्रदेशसभा सदस्यमा उठ्ने तयारीमा छन् । जनताले आफूलाई भोट दिएकाले हार्ने सम्भावना नै छैन भनेर निरन्तर कानुनी उपचार खोजेका रायले न्याय पाए । अहिले पराजित सावित भएका अरुणकुमार चौधरीले चार वर्ष वडाको जिम्मेवारी सम्हाले । पदावधि सकिने बेलामा वडाध्यक्षको जिम्मेवारी पाएका रायसँग गरिएको संक्षिप्त कुराकानीः
जितेर पनि हार्नुपर्दा कस्तो अनुभूति भयो ?
हारेको छुइँन भन्नेमा म निश्चित थिएँ । त्यसैले न्यायका लागि म अदालतमा गएको हुँ । अहिले ढिलै भए पनि न्याय पाउँदा खुसी लागेको छ । देशमा कानुन रहेछ ।
तपाईंलाई चुनाव जितेको छु भन्ने पूर्ण विश्वास हुनुको कारण के थियो ?
वडामा मेरो पक्षमा भोट छ । म स्वतन्त्र उम्मेदवार थिएँ । मेरो पक्षमा जनताको अपार समर्थन थियो । त्यसैले मैले नै चुनाव जितेको छु भन्नेमा म ढुक्क थिएँ । मगतणनामा समेत मलाई हराउन विभिन्न तरिकाले चलखेल भयो ।
न्यायका लागि लडाइँ लड्दा खर्च पनि भयो होला नि ?
न्यायका लागि जनकपुरदेखि काठमाडौंसम्म ओहोर-दोहोर गर्दा खर्च त भयो नै । तर, मलाई जनताले नै चन्दा उठाएर खर्च जुटाइदिनु भयो । भोट दिने जनताले नै मलाई न्यायका लागि लड्न खर्च पनि दिनुभयो । सबै खर्चका लागि वडामा चन्दा उठाइयो । मलाई माया गरे सबैले चन्दा दिए । दुई हजारदेखि २० हजार दिए । खाना खर्च, यातायात खर्च, वकिल खर्च सबै चन्दा उठाएर नै पुग्यो ।
स्थानीय तहको चुनाव आउन लागिसक्यो । वडाध्यक्षमा फेरि स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ?
विभिन्न पार्टीबाट मलाई पार्टी प्रवेशका लागि प्रस्तावहरू आइरहेका छन् । तर, म कुनै पार्टीमा गइहाल्ने मनस्थितिमा छैन । मैले आउँदो चुनावमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने विचार गरिरहेको छु । म कुनै पार्टीबाट नभएर प्रदेशसभा सदस्यमा स्वतन्त्र उठ्ने सोच बनाइरहेको छु ।
चुनाव हारेर पनि तपाईंको प्रतिस्पर्धी अरुणकुमार चौधरीले चार वर्ष वडाध्यक्ष चलाउनुभयो । यसलाई कसरी लिनु भएको छ ?
देशमा कानुन छ । हारेको मान्छेले वडाध्यक्ष चलाउने भनेको गैर-कानुनी हो । अरुणकुमार चौधरीलाई कानुनले केही न केही सजाय पक्कै गर्ला । उहाँलाई कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने पक्षमा छु । हारेका व्यक्तिलाई जितेको बनाइदिने निर्वाचन अधिकृतलाई पनि कारबाही हुनुपर्छ ।
वडाध्यक्षको कार्यभार कहिलेदेखि सम्हाल्नुहुन्छ ?
१/२ दिनमा कार्यभार सम्हाल्छु । कागजपत्रलगायत केही कुरा मिलाउन बाँकी छ ।
वर्तमान वडाध्यक्षले काम गरिरहनु भएको छ कि छोड्नुभयो ?
छोडिसक्नुभयो । अब उहाँ जेलमा जानुहुन्छ ।
तपाईंसँग काम गर्ने अवधि एक वर्ष मात्रै बाँकी छ । चार वर्ष त जितेर पनि प्रतिपक्षमा बस्नुभयो । एक वर्षको अवधिमा जनताको मन जित्ने के काम गर्नु हुन्छ ?
अरूले गर्न नसकेको काम म गर्छु । कुनै पनि कामको लागि जनता धाउने नभएर म धाउँछु जनताको घर-घरमा । प्रत्येक जनताका घर-घरमा जान्छु । घरदैलो अभियान चलाउँछु । सकेको सेवा जनताको घरमै पुगेर दिन्छु । सिफारिसदेखि वडामा पर्ने कामका लागि जनताले कतै धाउनु पर्दैन । मेरो पुरा समय अब जनताको सेवामा समर्पित हुन्छ । जनप्रतिनिधि भनेको जनताको सेवक हो भन्ने उदाहरण बनेर देखाउँछु । वडामा शिक्षा, स्वास्थ्य, बाटोघाटोको अवस्था के कस्तो छ, त्यसको पहिचान गरी समस्या भएको ठाउँको समाधान गर्छु ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij