काठमाडौं । अट्याकिङ मिडफिल्डर मार्को एसेन्सियोको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल मड्रीडले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
बुधबार राति भएको खेलमा रियलले मालोर्काविरुद्ध ६–१ गोल अन्तरको शानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। रियलको पाँचौ जितमा मार्को एसेन्सियोले ह्याट्रिक गोल गरे भने करिम बेन्जेमा २ गोल गर्दा इस्कोले १ गोल थपे ।
यस्तै, मालोर्काका लागि दक्षिण कोरियाली खेलाडी काङ इन लिले १ सान्त्वना गोल गरे । खेलको तेस्रो मिनेटमै अनुभवी स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २४ मिनेटमा एसेन्सियोले गोल गरे । उनले २९ र ५५ मिनेटमा गरि ह्याट्रिक पूरा गरे । यस्तै बेन्जेमाले ७८ मिनेटमा दोस्रो गोल गर्दा इस्कोले ८४ मिनेटमा गोल गरे ।
जितसँगै ६ खेलबाट ५ जित र १ बराबरी सहित १६ अंक सहित शीर्ष स्थानमा छ । समान ६ खेल खेलेको एट्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा छ । पराजित मालोर्का ६ खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ । बुधबार रातिको अर्को खेलमा भिल्लारियलले इल्चेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij