वेबटिभी खबर
लन्डन । बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौं डलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो ।
सन् २०१३ मा मुगाबेको जानु-पीएफ पार्टीलाई पाँच लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिस अमेरिकन टोब्याको (व्याट) संलग्न रहेको थियो । व्याटले दक्षिण अफ्रिकामा घुस दिने र प्रतिद्वन्द्वीलाई क्षति पुर्याउन गैरकानूनी ढंगले निगरानी गरेको थियो ।
तर, व्याटले आफ्नो कम्पनीको आँचरण उच्च राख्न प्रतिबद्ध भएको जनाएको छ ।
आर्थिक अनियमित, ठगी र हिंसाका कारण मुगाबेको ३७ वर्ष लामो शासनकाल ओझेलमा पारेको थियो । सन् २०१७ मा सत्ताच्यूत गरिएका मुगाबेको सन् २०१९ मा मृत्यु भएको थियो । खोज पत्रकारीता व्यूरो र बाथ विश्वविद्यालयको संयुक्त अनुसन्धानमा बीबीसीले आर्थिक हिनामिनाबारे चुहावट भएका हजारौं कागजात प्राप्त गरेको जनाएको छ ।
व्याटले दक्षिण अफ्रिकामा झन्डै दुई सय गोप्य सूचनादाताको सञ्जाल स्थापना गरेको अनुसन्धानमा देखिएको छ । अधिकांश सूचना दक्षिण अफ्रिकी निजी सुरक्षा कम्पनी फर्सेनिक सिक्योरिटी सर्भिसबाट प्राप्त भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij