वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद् उपस्थित भए सदन अवरोध गर्ने चेतावनी दिएको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले पार्टीले यस्तो बताएका हुन् ।
पार्टी विभाजन गरेर नयाँ दल खोल्न लागेपछि एमालेले १ भदौमा माधव नेपाल, मेटमणि चौधरी, रामकुमारी झाक्रीलगायत १४ सांसद्लाई कारबाही गरेको थियो ।
पार्टीले कारबाही गरेका १४ सांसद्को हैसियत गैरकानुनी रहेको र सर्वोच्चले मुद्दा टुंग्याउन बाँकी रहेकाले ती सांसद् सदनमा उपस्थित भए एमालेले बैठक अवरोध गर्ने ओलीको तर्क छ ।
‘उनीहरूको हैसियत नै गलत छ । सांसद् नभएको व्यक्ति उपस्थित भएर सदन चलाउने हो भने बेग्लै कुरा । हामी पनि हाम्रो दलमा संख्या थपेर सदनमा पठाउँछौँ । होइन भने सांसद् नै नरहेकाहरू बैठकमा आए एमालेले सदन चल्न दिँदैन,’ ओलीले भने ।
१ भदौमा एमालेले १४ सांसद्लाई कारबाही गर्दै यसबारे पत्र संसद सचिवालयमा पठाइसक्दा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई पदमुक्त नगरेको र निर्वाचन आयोगले पनि माधव नेपालको दललाई मान्यता दिनु गैरकानुनी भएको ठहर गर्दै एमालेले १६ भदौमा सर्वोच्चमा दायर गरेको मुद्दा विचारधीन छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij