वेबटिभी खबर
नयाँ दिल्ली । काेराेना संक्रमणका कारण गत जुन महिना भारतको राजधानी नयाँ दिल्ली धेरै नै डरलाग्दो रह्यो । संक्रमणको दोस्रो लहरले दिल्लीमा दिनहुँ संक्रमितको संख्या तीव्रताले बढिरहेको थियो । दुई करोडभन्दा बढी जनसंख्या भएको दिल्लीमा जुनको अन्तिम सातातिर दैनिक ३ हजारभन्दा बढी संख्यामा संक्रमण पुष्टि हुने गरेको थियो ।
संक्रमणको दोस्रो लहरको चपेटामा अमेरिका पछि भारत आएको थियो । भारतले संक्रमणलाई कसरी नियन्त्रण गर्ला ? संक्रमण नियन्त्रणमा भारत कहाँनेर चुक्यो ? जस्ता यावत् प्रश्नहरु धेरैको मनमा उब्जिएका थिए । भारतमा जुन महिनाभरि कोभिड-१९ संक्रमण परीक्षण गराउने मानिसहरुको भिडले ल्याब भरिएका थिए । संक्रमणको दोस्रो लहरमा सरकारी अस्पतालहरुमा अराजकता र तनावपूर्ण अवस्था थियो । तर जुनको अन्तिमतिर दिल्ली सरकारले कोरोना नियन्त्रण रणनीतिमा केही परिवर्तन गर्यो । जस्तै घर-घरमा गएर कोरोना परीक्षण गर्ने, एन्टीजेन परीक्षणको दायरा फराकिलो बनाउने आदि ।
दिल्ली सरकारको यो कदमले कोरोना नियन्त्रणका लागि उपलब्धिपूर्ण बन्यो । दिल्ली सरकारले अझै पनि एन्टीजेन परीक्षणलाई प्राथमिकताकासाथ अगाडि बढाइरहेको छ । जसरकारण परीक्षणको नतिजा तुरुन्त थाहा पाउन सकिन्छ । दिल्ली सरकारले एन्टीजेन परीक्षणसँगै सार्वजनिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेको छ । त्यसले गर्दा संक्रमण क्रमशः नियन्त्रणमा आएको हो । परीक्षणलाई व्यापक बनाएको छ ।
तर, स्थिति सुधारमा आएको भन्न हतार गर्न नहुने त्यहाँका स्वास्थ्यविज्ञले बताएका छन् । कोरोना संक्रमितको संख्यामा कमी र लगातार संक्रमणबाट मृत्यु हुनेको संख्या घट्नु भने सन्तोषजनक मानिएको छ । दिल्ली सरकारले अस्पतालको क्षमता सुधार गरेर संक्रमितलाई समयमै उपचारको व्यवस्था गरेकाले पनि संक्रमणमुक्त हुने दर राम्रो भयो ।
उपचार पद्धतिमा सुधारले मृत्युको जोखिम पनि घटायो । यसले गर्दा अस्पताल जाने तथा उपचारप्रति विश्वास बढ्दै गयो । सामान्य लक्षण देखिनेवित्तिकै तुरुन्त चिकित्सकहाँ जाने क्रम बढ्यो । दिल्लीका मानिसहरु आफूलाई संक्रमणको कुनै लक्षण देखिए लुकाउने नगरेको चिकित्सकहरुको भनाइ छ । जसकारण परीक्षण र उपचार गर्न पनि सहज भएको छ । हालसम्म दिल्लीमा कुल १४ लाख ३७ हजार ३१७ जनामा कोभिड-१९ पुष्टि भएको छ । जसमध्ये १४ लाख ११ हजार ८४० व्यक्तिहरु संक्रमणमुक्त भएका छन् ।
नयाँ दिल्लीमा नयाँ संक्रमित २४ जनामात्र, मृत्यु संख्या शून्य
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij