वेबटिभी खबर
काठमाडौं । भारतमा एकैदिन ८८ लाख १३ हजार मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
साेमबारकाे यो रेकर्ड एकैदिन खोप लगाएको अहिलेसम्मकै सबैभन्दा बढी हो । भारतमा हालसम्म ५५ करोडभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
भारतले धेरैभन्दा धेरै मानिसलाई भाइरसविरुद्धको खोपको दायरामा समेटेसँगै पछिल्लो दिनहरुमा दैनिक संक्रमित हुनेको संख्यामा पनि कमी आइरहेको छ । काेराेनाकाे दाेस्राे लहरबाट विश्वमै सर्वाधिक प्रभावित भएकाे भारतमा खाेप अभियानकाे तीब्रताले राहतकाे संचार गरेकाे छ । खोप अभियानलाई निरन्तर रुपमा तीब्रता दिँदा संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न भारत सफल भएकाे छ ।
भारतमा अप्रिल र मेमा संक्रमणको दोस्रो लहर उच्च विन्दुमा पुगेको थियो । त्यस समयको दाँजोमा अहिले भारतकाे अवस्था निकै सहज बन्दै गएकाे छ ।
नेपालको अवस्था
गत महिना प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवाले सरकारको प्राथमिकता खोप भएको बताए । उनले भनेका थिए, 'सरकारको प्राथमिकता खोप, खोप र खोप हुन्छ ।'
नेपालमा हालसम्म कोरोनाविरुद्धको तीनवटा खोप प्रयोगमा आइसकेको छ । कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप नेपालमा लगाइएको छ ।
संक्रमणको तेस्रो लहरबाट जोगिन खोपमात्र विकल्प भएको स्वास्थ्यविज्ञहरुले बताइरहेका बेला देउवाले आगामी चैतसम्म सबै नागरिकहरुलाई कोरोनाविरुद्धको खोपको दायरामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोभिड–१९ संक्रमण पहिलो, दोस्रो गर्दै तेस्रो लहरमा प्रवेश गरिसकेको छ । यसले स्वरुप परिवर्तन गर्दै स्वास्थ्य प्रणालीलाई नै अस्तव्यस्त पारिरहेको छ ।
नेपालमा अहिलेसम्म ४७ लाख १६ हजार ९३६ जनाले कोरोनाविरुद्धको पहिलो डोज लगाइसकेका छन् । त्यसैगरि ३४ लाख ९ हजार ६५ व्यक्तिले भाइरसविरुद्धको पूर्ण डोज लगाएका छन् ।
यससँगै सरकारले १२ देखि १८ बर्ष उमेर समुहकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ । अमेरिकाको फाइजर एन्ड बायोनटेक कम्पनीले उत्पादन गरेको खोप खरिदका लागि सम्झौता भइसकेको छ । यसैगरि असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने निश्चित भएको छ ।
हालसम्म विश्वमा २० करोड ८० लाख २० हजार ४७४ मानिसहरुमा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १८ करोड ६४ लाख ८९ हजार १७८ व्यक्तिहरु संक्रमणमुक्त भएका छन् । यससँगै ४३ लाख ७५ हजार २९ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७१ लाख ५६ हजार २६७ रहेको छ ।
कोभिड–१९ संक्रमणले विश्वलाई तर्साएको बेला छोटो अवधिमा नै कोरोनाविरुद्धको खोप उत्पादन गर्न सफल हुनु ठूलो उपलव्धि हो ।
हालसम्म विश्वमा रहेको जनसंख्याको ३१.४ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् । त्यसैगरि २३.६ प्रतिशतले भाइरसविरुद्धको पूर्ण डोज लगाइसकेका छन् । विश्वका सबै राष्ट्रहरुले आफ्ना सम्पूर्ण नागरिकलाई खोपको दायरामा समेट्ने प्रयत्न गरिरहेका छन् ।
१८ वर्ष उमेर नाघेकालाई कोरोनाविरुद्धको खोप लगाउन मिल्ने भएपनि त्यसभन्दा कम उमेर समुहलाई खोपको प्रभावबारे अध्ययन तथा अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij