वेबटिभी खबर
काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतीको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखांकन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्नेगरी आठ वर्ष पहिले यो सडकको ट्रयाक खुलेको थियो । गत वर्षको बाढीले बगाएको सडक मर्मत गरेर हिउँदका महिना सवारी चले पनि बर्खा लागेपछि बेलाबेलामा रोकिने गरेको छ । आयोजनाको बागलुङ खण्डमा भइरहेको काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती भएको हो ।
ठाउँठाउँमा झरेको पहिरो र बाढीले सडक नै बगाउँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का सर्वसाधारण मर्कामा परेका हुन् । सडक सहज नहुँदा सर्वसाधारणलाई पालिका मुकाम बुर्तिबाङ बजार आउजाउमा समस्या छ । वर्षाको समयमा उर्लिने भुजीखोलाको जोखिम र वर्षासँगै आउने बाढी र पहिरोका जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको स्थानीय राजकुमार बुढामगरले बताए ।
सडकको समस्याका कारण ढोरपाटनमा फलेको आलु र स्याउको बजारीकरणमा समेत समस्या छ । ढोरपाटनमा बर्खे आलु फल्छ । बजारमा निकै माग हुने र किसानको बारीमा राम्रो फल्ने ढोरपाटनको आलु सडककै कारण किसानकै भण्डारमा अल्झिने अवस्था आएको अर्का स्थानीय धनबहादुर विश्वकर्मा बताए ।
‘गाडी चल्ने बाटो छैन, माथि ढोरमा आलु छ, यता बजारमा माग राम्रो छ,’ उनले भने, ‘सडक मर्मतसमेत राम्रोसँग भएको छैन । पानी परे हालत उत्रिने सडक छ ।’ उक्त सडकखण्ड आयोजनाको कार्यालय बागलुङमा छैन । एक सय ५० किलोमिटर लामो दूरीको सडकको झण्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । सडकको स्तरोन्नति र मर्मतको काम रुपन्देहीको सालझण्डीतर्फबाट मात्रै हुने गरेकाले ढोरपाटनले सधैँ सास्ती खेप्नुपरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बताए ।
अन्य योजनामार्फत काम गर्दा दोहोरोपन हुने भएकाले यो सडकमा कम चासो छ । सडक निर्माणमा ध्यान दिन अर्थ, पूर्वाधार, गृह र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भए पनि सडकको अवस्था उस्तै रहेको नगरप्रमुख नेपालीले गुनासो गरे । ढोरपाटन शिकार आरक्ष छेउमा रहेको देउरालीमा जनै पूर्णिमा मेला लाग्छ । धार्मिक मान्यताअनुसार ढोरपाटन नगरपालिकाका अधिकांश सर्वसाधारणले देउरालीको पूजा गरेपछि मात्रै मुक्ति पाइने मान्यता छ । मेलामा पुग्नेहरूको पनि ठूलो लर्को लाग्थ्यो । तर, सडकका कारण यस वर्षको वर्षायाममा सर्वसाधारणले दुःख भोग्ने निश्चित छ ।
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको सात वर्ष बिते पनि बागलुङ खण्डको अझै स्तरोन्नति हुन नसक्दा समस्या भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij