तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । संघीय सरकारबाट चालु वर्षमा दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्यांकी निर्माण हुन थालेको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्यांकी निर्माण गर्न थालिएको बताए ।
नगर प्रमुख न्यौपानेले भने, ‘यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।’
व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिए । वडाध्यक्ष श्रेष्ठले भने, ‘करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौँ ।’
पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ । यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ ।
मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ । यसका साथै रमणीय हरियाली वनजंगल देखिन्छन् ।
विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् ।
करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ । विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् ।
तर पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्यांकी बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताए । दाहालले भने, ‘सुविधा सम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।’
योजना निर्माणको काम हुने अवस्था पुगेकाले अब छिट्टै सहजता कायम हुने पूर्वजनप्रतिनिधिसमेत रहेका दाहालले बताए । यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् ।
हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् ।
यी मनोरम दृश्यालोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका हुन । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन ।
मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका हुन ।