Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

  • 207
    SHARES
  • चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

    कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुईजना कारागार चलान भएका छन् ।

    उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।  प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।

    प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो ।

    कारागार चलान हुनेमा पोखरा महानगरपालिका-१७ हनुमान टोलका सुशील कार्की र पोखरा-५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    यसैगरी घटनामा संलग्न पोखरा-४ का सुजित मुल्मी, पोखरा-५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा-९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा-२० का मनिष थापा र पोखरा-११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी  भइरहेको छ । 

    यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका-६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका-११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए ।

    बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए । 

    अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

    सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij