वेबटिभी खबर
काठमाडौं । वैज्ञानिकहरुले अन्तरिक्ष प्रजनन अनुसन्धानअन्तर्गत लामाे समय भण्डारण गरेर राखेकाे मुसाकाे स्पर्मबाट १६८ बच्चा जन्माएका छन् । वर्षौसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखेपछि जापानको एक प्रयोगशालामा मुसालाई गर्भवती गराएर १६८ बच्चा जन्माएका थिए । स्पर्मलाई फ्रिज गर्नका लागि आवश्यक पर्ने स्तरभन्दा १७० गुणा बढी विकिरण स्तरमा राखिएको थियो । उक्त स्पेस जापानिज एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीको त्सुकुबा स्पेस सेन्टरमा राखिएको थियो । अन्तरिक्षमा विकिरणको स्तर पृथ्वीभन्दा धेरै हुन्छ ।
यामानाशी विश्वविद्यालयका जीव वैज्ञानिक तेरुहिको वाकायामाको नेतृत्वमा भएको यस अध्ययन साइन्स अडवासेन्ज नामक पत्रिकामा प्रकाशित भएको थियो । डा.वाकायामा भन्छन्,‘अन्तरिक्षको विकिरणले शुक्राणुको डिएनएमा क्षति पनि पुर्याएन र यसको प्रजनन क्षमता पनि प्रभावित भएन ।’ यी शुक्राणुबाट जन्मिएका बच्चाहरु पृथ्वीमा जन्मिने मुसा जत्तिकै स्वस्थ छन् । मुसाको जिनमा पनि कुनै त्रृटि भेटिएन । त्यहाँ जन्मेका मुसाले जन्माएका बच्चाहरु स्वस्थ छन् । यस्ता प्रयोगबाट वैज्ञानिकहरु अन्तरिक्षको परिस्थितिले प्रजननलाई कसरी प्रभावित पार्छ भनेर बुझ्ने प्रयासमा छन् । अन्तरिक्षमा विकिरण धेरै हुनले जिनलाई प्रभावित बनाउन सक्ने आशंका गरिएको छ । शून्य गुरुवात्कर्षणले भ्रुण विकासमा असर गर्छ कि भन्ने चिन्ता रहेको छ । अन्तरिक्षमा यस्तो किसिमको प्रयोग मुसाभन्दा अगाडि झिंगा र माछामा पनि गरिएको थियो ।
यस अध्ययनमा विकिरणको प्रभावमात्रै अनुमान गरिएको छ । स्तनधारी जीवमा प्रजनन प्रक्रियाको अध्ययन गरिएको यो पहिलो अध्ययन थियो । वाकायामा भन्छन्, ‘यदि विकिरणबाट उत्परिवर्तित भएमा नयाँ पिढीमा परिवर्तन देखिन्छ । धेरै पुस्ताहरु अन्तरिक्षमै बसे भने म्युटेसन बढ्दै जान्छ । हामीले यही म्युटेसनबाट कसरी बचाउने भन्ने बारे अध्ययन गर्नुपर्छ ।’ वाकायामाले शून्य गुरुत्वाकर्षणको परिस्थितिमा अध्ययनका लागि अध्ययनकर्ताले अगस्टमा मुसाको भ्रुण अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाउने बताएका छन् ।
यस प्रयोगबाट स्तनधारी भ्रुणको विकासका लागि गुरुत्वाकर्षणको आवश्यकता छ कि छैन भनेर पत्ता लाग्छ । यदि त्यस्तो अन्तरिक्ष यात्रीहरूलाई दीर्घकालीन अध्ययनको लागि टाढाका ग्रहहरूमा पठाइन्छ भने त्यस्तो ज्ञानको आवश्यक पर्दछ । वाकायामा भन्छन्, ‘मुसासम्बन्धी अध्ययनले धेरै लामो अवधिको अभियानका लागि स्थिर मानव भ्रुणलाई अन्तरिक्षमा पठाउन सकिन्छ र त्यहाँ जन्म दिन सकिन्छ ।’
मुसाका स्पर्म क्याप्सुलमा बन्द गरेर सन् २०१३ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पठाइएको थियो । त्यहाँ तिनीहरुलाई फ्रिजमा राखियो । पछि सन् २०१९ मा फिर्ता ल्याइएको थियो । अन्तरिक्ष केन्द्रमा गरिएको यो सबैभन्दा लामो अध्ययन हो । अन्वेषकहरू शुक्राणु दुई सय वर्षसम्म अन्तरिक्ष यानमा जीवित रहन सक्ने बताउँछन् । तिनीहरू सजिलैसँग बीजको रूपमा भण्डार गर्न सकिन्छ । वाकायामा भन्छन्,‘अन्तरिक्षमा जनावारहरु लैजानुभन्दा ती जनावारको शुक्राणुहरु लैजान सजिलो हुन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij