Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बिरुवा लिन सर्वसाधारणको भीड

बिरुवा लिन सर्वसाधारणको भीड

  • 296
    SHARES
  • बिरुवा लिन सर्वसाधारणको भीड

    दमौली । केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ ।

    कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो ।

    बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण मागअनुसारको बिरुवा लगिरहेका छन् । 

    शुक्लागण्डकीदेखि आइपुगेका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा लगेको बताए ।

    उनले भने, ‘कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगेँ, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छौँ ।’

    व्यास नगरपालिका-९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताए । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आएका छन् ।

    उनले भने, ‘डाले घाँस लगेर आफ्नै बारीमा रोप्छु ।’ कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्करुपमा बिरुवा वितरण सुरु गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिए ।

    उनका अनुसार एक लाख आठ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उनको भनाइ छ ।

    कार्यालयमा विशेष गरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उनले बताए ।  बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ ।

    यसले गर्दा बिरुवाको संरक्षण भएको छ की छैन भन्ने अनुगमन गर्न सजिलो हुने उनको भनाइ छ । उनले भने, ‘बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रष्ट भनेका छौ ।’

    डिभिजन वन कार्यालयको नर्सरीमा मात्रै ७० हजार बिरुवा उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषक कार्यालयमा आउँछन् ।

    पशुपालनमा सक्रिय कृषक डाले घाँसका लागि बिरुवा लिन आउने गरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउए ।

    कार्यालयको नर्सरीसहित सव डिभिजन ऋषिङ, विमलनगर, शुक्लागण्डकी र ब्यासमा बिरुवा उत्पादन हुन्छ ।

    कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सीपलिगान, राजवृक्ष, पारिजात, शीतलचिनी, बडहर, इपिल, लप्सी, अमला, चाप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ ।

    कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ ।

    जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    तनहुँ बिरुवा उत्पादनको हबको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गरेर पुरस्कृतसमेत भइसकेको छ ।

    जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर छ सय १६  सामुदायिक वन र चार सय ४८५  कबुलियती वन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बिरुवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij