वेबटिभी खबर
कञ्चनपुर । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना संक्रमण बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरू छन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा संक्रमण देखिएको बताए ।
‘पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।’ उनले भने, ‘अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना संक्रमण जाँच भइरहेको छ ।’
यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय संक्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन ।
बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले संक्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए ।
‘बुधबार शंकास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको छ ।’ उनले भने, ‘अहिले शंकास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।’ गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना संक्रमण देखिएको बताए ।
‘बुधबार तीन जनामा संक्रमण देखिएको छ ।’, उनले भने, ‘अहिले घर फर्किनेको संख्या कम छ ।’ बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या २६ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij