वेबटिभी खबर
काठमाडौं । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा नेपालमा लैंगिक समानता, महिला र युवतीको सशक्तिकरणलाई अगाडी बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।
‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो ।
उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रूपमा शुभारम्भ गरे ।
संघ प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम १९.५ मिलियन अमेरिकी डलरको रहेको छ । यस कार्यक्रमले नेपालमा लैंगिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ ।
कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ । कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसंघका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्रसंघीय जनसंख्या कोष, राष्ट्रसंघीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ ।
शुभारम्भ समारोहमा मन्त्री चौधरीले महिलाको सशक्तिकरण नभई दिगो विकास नहुने उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले लैंगिक हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि विभिन्न कानुन र संरचनागत व्यवस्था बनेको जानकारी गराउँदै कार्यान्वयनमा सबैको योगदान आवश्यक पर्नेमा जोड दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij