Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्न अभियान सुरू

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्न अभियान सुरू

  • 300
    SHARES
  • आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्न अभियान सुरू

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ ।

    नगरपकालिका वडा नं-१ ज्यामिरबोटे र वडा नं-२ सुन्दरी गाउँका युवाहरू तालको प्रवर्द्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा रहेको छ ।

    परापूर्वकालदेखि धार्मिक आस्था एवम् विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्द्धनमा जुटेका हुन् ।

    चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरूबाट ९० हजार संकलन गरी अभियान सुरु भएको आँखे ताल संरक्षण एवम् सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए ।

    ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् ।

    मन्दिर निर्माण एवम् तालको संरक्षणका लागि हालसम्म ६ लाख २५ हजार नगद खर्च भएको छ । ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ’, सचिव ढकालले भने ।

    यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए । उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए ।

    मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं-१ बाट दुई लाख ५० हजार र वडा नं-२ बाट ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ ।

    यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि तालका रूपमा लिने गरिएको स्थानीय बुढापाकाहरू बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरूपमा स्टिलको रेलिङसहित गोलाकार रूपमा संरक्षण गरिएको छ ।

    आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवम् विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए । यस क्षेत्रमा छ पुस्ताअघिदेखि मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट संकेत गर्ने उल्लेख गरे ।

    यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन सकिने शिवप्रसादको भनाइ छ । कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए ।

    जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ ।

    ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि यहाँको जलाशयलाई आँखे ताल भनिएको अधिकारीले जानकारी दिए।

    युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवर्द्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

    मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवम् सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ ।

    पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् ।

    पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं-३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ/दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ ।

    खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij