वेबटिभी खबर
काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छिन् काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुकी सरस्वती लोहनी अधिकारी ।
आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा ५० लाखभन्दा बढी आम्दानी गरेकी छिन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गरेको अचार उद्योगबाट पर्याप्त आम्दानी गरेकी हुन् ।
तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता भएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थालेको बताइन् । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार छिन् ।
‘नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर गर्यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन गर्यौ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,’ उनले भनिन् ।
तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौंको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दैआएकी थिइन् ।
अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त छिन् । उनले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाएको बताउँछिन् ।
२०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाएका छन् । नियमित रूपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको संख्या थपघट हुने गरेको उनको भनाइ छ ।
सुरुको समयमा ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ ।
मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारीले बताइन् । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् ।
माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौं, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ ।
यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले जानकारी दिइन् । वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij