Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

टिकापुरमा निःशुल्क शववाहन सेवा

टिकापुरमा निःशुल्क शववाहन सेवा

  • 386
    SHARES
  • टिकापुरमा निःशुल्क शववाहन सेवा

    कैलाली । कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको हो ।

    शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिंक प्रालिले बेहोर्ने भएको छ । प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि यहाँ शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् ।

    डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो । ट्रेड लिंकले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ ।

    ‘सञ्चालनमा ल्याएको शववाहन प्रयोग गर्दा रकम लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको हुँ’, तुल्सी ट्रेड लिंकका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य संघ का पूर्वअध्यक्ष पर्शुराम चपाईले भने ।

    ‘यहाँ उपचारमा आउने धेरै विपन्न परिवार हुन्छन् । हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरू मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सघाउन खोजेको हो ।’

    उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो ।

    अस्पतालको आह्वानमा चपाईले एक वर्षका लागि सञ्चालन खर्च दिएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए ।

    ‘हाम्रो आग्रहलाई उहाँले स्वीकार गरी सघाउन तयार हुनुभयो, यसले मृतकका आफन्त र अस्पताललाई पनि सहज भएको छ’, उनले भने, ‘चपाई जस्तै मनकारी भएकाले हामीलाई काम गर्न ऊर्जा मिल्छ । बिरामीको उपचार गरेर आफन्त पीडामा हुन्छन्, यो सहयोगले ठूलो राहत हुन्छ ।’

    गत वर्षको लागतका आधारमा अनुमान गरिएको वार्षिक तीन लाख रकम चपाईको कम्पनीले बेहोर्ने र यसको दुरुपयोग हुन नदिने अध्यक्ष सोडारीले बताए । अब टीकापुर र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij