वेबटिभी खबर
कैलाली । कैलालीको टीकापुर-१ की बन्दना जैसीको नौ महिनाको शिशु छ । बन्दनाको घरमा सुत्केरीका लागि विशेष खाना पाक्छ । घरका सदस्यले जस्तै खानपानले आमालाई पुग्दैन भन्दै उनका लागि थप खाना र पोषिलो खानाको जोहो गरिन्छ ।
‘म परिवारका सदस्यभन्दा थप एक समय खाना खान्छु । खानामा अनिवार्य दूध, दही, अण्डा वा माछा मासु खान्छु’, बन्दनाले भनिन्, ‘यसका साथै फलफूल र हरियो सागपातमा समेत ध्यान दिन्छु । जसले मेरो शिशु पनि स्वस्थ छ ।’
महिलाका लागि गर्भावस्था र सुत्केरी अवस्था संवेदनशील अवस्था हो । यो समयमा महिलाले अन्य व्यक्तिभन्दा बढी खानेकुरा खान आवश्यक हुन्छ । आमाले खानपानमा ध्यान नदिएमा आमा र शिशुको स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्न सक्छ ।
शिशु र आमालाई आवश्यक पौष्टिक आहार नपुग्न सक्छ त्यसतर्फ परिवारका सदस्य सचेत हुन आवश्यक छ । टीकापुरकी गौरी चौधरी घरमा जे पाक्यो त्यही खान्छिन् ।
उनको घरमा सुत्केरी भएकाले कहिले काहीँ माछा मासु, हरियो सागपात पाक्छ । ‘अन्य सदस्यका लागि जे पाक्छ त्यही खान्छु, कहिलेकाहीँ माछा मासु भने खान्छु,’ उनले भनिन्, ‘मेरो खानपानमा म आफैँ सचेत छु ।’
टीकापुर-२ की ललिता चौधरी पनि सुत्केरी भएकी छिन् । उनी पनि घरका सदस्यले पकाएको खाने कुरा खान्छिन् । त्योसँगै थप खानाका रूपमा माछा, मासु, अण्डा, हरियो सागपातसमेत खाने गरेिक छिन् ।
‘हरियो ताजा तरकारी धेरै खान्छु, माछा मासु पनि खाइरहन्छु’, उनले भनिन्, ‘मेरो र शिशुको स्वास्थ्यबारे घरका सदस्यसमेत सचेत हुनुहुन्छ । मलाई आवश्यक पोषणयुक्त खानाको जोहो गरिदिनु हुन्छ ।’
समय पहिलेभन्दा धेरै फेरिएको छ । आजभोलि गर्भ रहेदेखि सुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ ।
गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपिनको जरुरी पर्ने भएकाले परिवाका सदस्यहरू सचेत बन्दै गएका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेलले बताइन् ।
‘हामीले आमा समूहका बैठक, गर्भजाँचमा आउने महिलालाई परिवारका सदस्य साथमा लिएर आउन भन्छौ’, उनले भनिन्, ‘परिवारका सदस्यलाई गर्भवती, सुत्केरीको स्याहारबारे जानकारी दिन्छौँ, धेरै परिवार सचेत भएका छन्, बिस्तारै परिवार सचेत र जिम्मेवार बन्दैछन् ।’
गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ । यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij