Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

  • 459
    SHARES
  • सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ ।

    गर्भवती र सुत्केरीसँग उपहार कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

    अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ परीक्षण र सुत्केरी परीक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिए ।

    घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको छ ।

    ‘तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौं’, स्वास्थ्य शाखा प्रमुख बरुवालले भने, ‘सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौं ।’

    आर्थिक वर्ष २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ ले संस्थागत प्रसूति सेवा लिएका छन् । उनीहरू मध्य ४५ जना पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए ।

    आठ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ ।

    नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ ।

    आव २०७८/७९ मा ६ लाख विनियोजन भएको यो कार्यक्रमका लागि चालु आव २०७९/८० मा पनि ६ लाखनै विनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

    गर्भवती र सुत्केरीको खानपान, सरसफाई र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij